नेपालको संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन दोेस्रो पटक सम्पन्न भइसकेको छ । नविनतम संरचनामा कार्य सम्पादन गर्न गाह्रो भएको पहिलोपटक निर्वाचित भएका जनप्रतिनिधिहरुको गुनासो थियो । कर्मचारी समायोजनमा भाँडभैलो, भौतिक पूर्वाधार तथा संयन्त्रको कमीले स्थानीय तहको विकासमा प्रभाव परेको थियो । तर अहिले विकासको आधार निर्माण भइसकेको स्थानीय तहमा दोस्रो पटक नवनिर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको करिब सात महिना पुग्न लागेको छ ।
यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यसम्पादन कसरी गरिरहेका छन् भन्ने जान्न हामीले यो स्तम्भ शुरु गरेका छौं । जसअन्तर्गत वाग्मती प्रदेशको नुवाकोट जिल्लामा रहेको बेलकोटगढी नगरपालिकाका नगर उपप्रमुख शिवप्रसाद दाहालसँग नगरपलिकाले गरिरहेको कामका सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंशः
नगरपालिकाको नेतृत्वमा आएको सात महिना बित्यो । कस्तो रह्यो यो अवधि ?
यो अवधिमा हामी पनि कार्यसम्पादन कसरी गर्ने भन्ने सिक्दै छौ भने एकातर्फ ईमान्दारीपूर्वक बेलकोटगढी नगरपालिकालाई समृद्ध बनाउन हरपल प्रयासरत छौ । पहिलो पटक निर्वाचित भएर जनताको प्रतिनिधित्व गर्ने अवसर मतदाताहरुले दिनुभएको छ । यो समयमा सोचे र बोले जति गर्न नसके पनि आगामी पाँच वर्षमा यो नगरपलिकालाई एउटा नमूना नगरपालिका बनाउनेमा भने दुईमत छैन ।
एउटा सामान्य जनता हुनु र जनप्रतिनिधि हुनुमा के भिन्नता पाउनुभयो ?
सामान्य जनता हुँदा जनताको जीवनस्तर उठाउन पालिकाबाट विभिन्न कार्यक्रम आईदिए हुन्थ्यो भन्ने जस्ता आकांक्षा रहन्थे भने अहिले आफै त्यो स्थानमा रहँदा फरक अनुभूति हुनु सामान्य नै रह्यो तर स्थानीय सरकारको आफैंले नेतृत्व गर्दा पहिले सोचेभन्दा फरक अनुभव भइरहेको छ । जिम्मेवारीको बोध, कानूनको जानकारी, उत्तरदायित्व बहन साथै आम जनतको मागलाई सम्बोधन गनुपर्ने कारणले गर्दा जिम्मेवार प्रतिनिधिको अनुभव भईरहेको छ ।
तपाईंले यो अवधिमा पालिकाबासीले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो ?
हामी निर्वाचित भएर आएसँगै हामीले ल्याएको बजेट अहिले कार्यान्वयन चरणमा रहेको छ । बेलकोटगढी नगरपालिकाको कार्यालय सञ्चालनदेखि वडा कार्यालय सञ्चालनसम्म भौतिक पूर्वाधारको निर्माणलाई पूर्णता दिएका छौ । आसाढमा बजेट भाषण मात्रै हुने र जेठमा मात्रै बजेटको सम्झौता हुने जुन चलन पहिलेदेखि नै चलिआएको छ यसलाई रोक्दै हामीले मंसिर मसान्तसम्म सम्पूर्ण योजनाको सम्झौंता गर्न सूचना जारी गरेका छौ । यसबीचमा पनि केही न केही परिर्वतनको भने शुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले गर्दा पनि हामीले सोचेजस्तो काम गर्न नसकेको अवस्था छ । हामीले यो समयमा देखाउनेभन्दा पनि दीर्घकालीन विकासको अनुभूति हाम्रा नगरबासीलाई दिनेछौ भन्ने कुरामा म लगायत सम्पूर्ण जनप्रतिनिधिबाट नगरवासीलाई विश्वास दिलाउन चाहन्छु ।
पालिकाको बजेटमा कुन कुन कुरा प्राथमिकतामा परे ?
स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष महत्व दिएर अहिलेको बजेट विनियोजन गरेका छौं । तुलनात्मक रुपमा भने हामीले पूर्वाधारलाई नै पहिलो प्राथमिकता दिएका छाैँ। पूर्वाधार सँगसँगै स्वास्थलाई पनि हामीले उत्तिकै महत्वका साथ हेरेका छौं ।
तपाईंले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन काममा बदल्नुभयो कि छैन ?
जनतालाई हाम्रा आश्वासन थिएनन्, ती हाम्रा प्रतिबद्धता हुन् । हामीले आफ्नो प्रतिबद्धतालाई काममा बदल्ने प्रयास गरिरहेका छौ । हामी निर्वाचित भएर आएसँगै सामान्य प्रतिबद्धता पूरा भइसकेका छन् भने अरु पनि हुनेक्रममा रहेका छन् । ती प्रतिबद्धता निःशर्त पूर्ण रुपमा काममा अवश्य पनि बदलिने छन् ।
यस पालिकाका मूख्य समस्या के के रहेछन् ? त्यसलाई समाधानका लागि तपाईंले चालेका कदम के के हुन् ?
समस्याभन्दा पनि जुन ईच्छा शक्तिले हामी निर्वाचनमा होमिएका थियौं, त्यो अनुसार कार्य गर्नलाई सबैभन्दा चुनौतीको विषय भौगलिक अवस्था नै रहेको छ । यो चुनैतीलाई एक छेउमा राखी समृद्व बेलकोटगढीको आधार; कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसहितको पूर्वाधार भन्ने नारालाई आत्मसात् गरी आफ्नो कार्यमा हामी निरन्तर लाग्ने छौं ।
यस्तो छ बेलकोटगढी नगरपालिको संक्षिप्त परिचय
साविक गा.वि.सहरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१–६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । यसको क्षेत्रफल १५५.६ वर्ग किलोमिटर, जनसंख्या ३९,८८८ सहित १३ वटा वडामा विभाजन गरिएको छ । यसको पूर्वमा ककनी गा.पा., पश्चिममा तारकेश्वर गा.पा. र धादिङ जिल्ला, उत्तरमा विदुर न.पा., लिखु गा.पा. र तारकेश्वर गा.पा. र दक्षिणमा धादिङ जिल्ला रहेको छ । यस न.पा.मा कृषिलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वर महादेव जस्ता प्रशिद्ध तीर्थस्थल समेत यसै न.पा.मा अवस्थित छ ।
‘कृषि, पर्यटन सहितको पूर्वाधार, विकासको मूल आधार’ भन्ने मुख्य उद्देश्यका रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक एजेण्डा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया