काठमाडाैं । संसद सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाभियोग प्रस्ताव सम्बन्धमा पठाइएको पत्र क्षेत्रधिकार बाहिर भएको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् ।
संसद् सचिवालयका महासचिव गौतमले एक पत्र लेखी राणालाई सर्वोच्च अदालतमा काम गर्न रोक लगाइएको पत्र निष्प्रभावी भएको उल्लेख गरेका थिए ।
गौतमद्वारा जारी पत्रमा भनिएको छ, ‘महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’
यसअघि मंगलबार प्रधानन्यायाधीश राणाले नियमित कार्य सम्पादन गर्न पाउँ भन्दै संसद सचिवालय पत्र दर्ता गराएका थिए । लोकपथसँग कुरा गर्दै संविधानविद् आचार्यले राणामाथि लगाइएको महाभियोग प्रस्ताव अघि बढाउने नबढाउने अधिकार नयाँ संसदसँग मात्र रहेको भन्दै यो केटाकेटी खेलेझैँ भएको टिप्पणी गरे ।
‘संसद सचिवालयका महासचिवले प्रधान्यायाधीशलाई लेखिएको भनिएको पत्र क्षेत्रधिकार बाहिरको हो,’ उनले भने, ‘यो महासचिवको केटाकेटीपना हो, प्रशासनिक निकायले यो निर्णय लिनै सक्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया