कांग्रेस कैलालीले गर्‍यो ८ जनालाई निलम्बन

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेस कैलालीले निर्वाचनमा असहयोग गरेको भन्दै ८ जनालाई निलम्बन गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको जनाउँदै कांग्रेस कैलालीले उनीहरुलाई कारबाही गरेको हो ।

निलम्बनमा पर्नेमा महाधिवेशन प्रतिनिधि गौरी लामा, भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिब पूर्णबहादुर कुँवर, पूर्व महासमिति सदस्य आनन्दराज जोशी, क्षेत्रीय प्रतिनिधि राजकुमार सिंह, रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा र सुभाष चन्द रहेका छन् ।

कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कैलाली क्षेत्र नं. ५ मा नेपाली कांग्रेस तथा सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धन दलका साझा उम्मेदवारकाविरुद्ध स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको, स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएको र सामाजिक सञ्जालहरुमासमेत त्यही रुपमा निरन्तर प्रस्तुत भएको प्रमाणसहित प्राप्त उजुरीका आधारमा निलम्बन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित स्पष्टीकरण नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय धनगढी, कैलालीमा पेश गर्ने व्यहोराको मिति १८ र १९ कार्तिक २०७९ मा पेश गरेकोमा उक्त पत्रको आजका मितिसम्म कुनै लिखि, मौखिक प्रतिक्रिया पार्टीलाई नदिएको र व्यवहारबाट समेत निरन्तर पार्टीहितविरुद्धको गतिविधिमा सक्रियतापूर्वक लागेको, पार्टीका आधिकाररिक उम्मेदवारलाई असहयोग गरेको प्रमाण्मित भएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ धारा ३४ (१) को (क), (ख), (ग) र (ङ) उल्लंघन भएको पुष्टि भएको हुँदा धारा ३४ (४) (ख) अनुसार ५ वर्षका लागि निलम्बन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?