काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन गाईतिहार र लक्ष्मीको पूजा गरी मनाइँदै छ ।
कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदै छ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
घरमा लक्ष्मी प्रवेश गरून भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहुन् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि गर्ने चलन रहिआएको छ ।
“विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।’’
लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।
लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको समितिले जनाएको छ ।
बुधवार बिहान गाई पूजा गरिन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो । १९६६ कात्तिक कृष्ण औँसी अर्थात् आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो ।
लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।
यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।
तिहार यमपञ्चकको पहिलो दिन काग, दोस्रो दिन कुकुर पूजा गरी मनाइयो ।
भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कात्तिक कृष्ण औँसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको भन्ने चलन छ । यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त रहेको तथ्य स्पष्ट हुन्छ ।
सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया