काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् । देउवाले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेका भएको कीर्ति संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको विकास गर्न सके उहाँको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।
स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए । देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेकाले पनि उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए ।
जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गराए । प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया