धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु

लोकपथ
14
Shares

काठमाडौं । सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न विद्युतीकरणको काम तीव्र बनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै विद्युत् सेवा पुनः सञ्चालनको काम सुरु गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ । नुवाकोटका सबै क्षेत्रमा भदौ २४ गते नै विद्युत् सेवा पुगेको थियो भने धादिङमा त्यसअघि नै विद्युत् सेवा सुचारु गरिएको थियो ।

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा पनि करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता शाक्यका अनुसार उत्तरगया गाउँपालिका–१ तथा गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ३ बाहेक रसुवाका अन्य सबै क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ ।

राष्ट्रिय विद्युत् वितरण प्रणाली नपुगेका क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली जडान गरी विद्युत् सेवा क्रमशः सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?