काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरे ।
घोषणापत्रमा नेपालको सम्पत्ति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानुन तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, अपराधीहरुको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरुलाई कानुन उल्लंघन गरेको अपराध मानि दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ ।
घोषणापत्रको सारसंक्षेप प्रस्तुत गर्दै नेमकिपाका सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कडा सजायका साथमा ठेक्काबाट बञ्चित गर्ने ऐन, कानुन बनाउन आफ्ना प्रतिनिधिहरुले संसद्बाट आवाज उठाउने बताए । शिक्षा क्षेत्रको बजेट बढाउनका लागि पनि आवाज उठाउने उल्लेख गर्दै उनले मल कारखाना खोल्ने, नहर र पानी पोखरीहरु बनाएर सिँचाइको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकासबारे योजना तत्काल सुरु गराउन आफूहरुले संघर्ष गर्ने पनि बताए ।
नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ । सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे ।
सुवालले आफ्नो पार्टीलाई जिताएर संसद्मा पु¥याएमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्ने बताए । त्यस्तै, एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउने बताए । नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्ने भन्दै उनले माध्यामिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भूमिका खेल्ने बताए । उनले आफूहरुले किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउने पनि उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया