छोरालाई विष खुवाई हत्या

दैलेख- दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।

ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ । कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहँुजसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विषसेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?