ओखलढुंगाको रुम्जाटारमा अहिले सबैको घर आँगनको डिलमा ढकमक्क सयपत्री, मखमली फूल फुलेर पहेँलै भएका छन् । बारीमा ढकमक्क फुलेको देख्दा लाग्छ, स्वर्ग धर्तीमै झरेर यहीँ बसेको छ ।
तिहार नजिकिँदै छ । दाजुभाइलाई टीका लगाइदिँदा दिदीबहिनीले फूलको माला पनि लगाइदिने दिन पनि नजिकिँदै छ ।

विशेषगरी गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा तिहार झल्काउने फूल आँगनमा मात्र होइन, बारीको डिलमा पनि फुलेका छन् ।
भन्ने गरिन्छ – फूलहरुको आ–आफ्नै महत्व हुन्छ । जबसम्म फूल बोट मै हुन्छ, तबसम्म फूलको महत्व अत्यन्तै हुन्छ र टिपेपछि महत्त्व हराउँदछ ।
तर, तिहारमा फुल्ने फूल भने टिपेपछि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् ।

सयपत्री पनि तिहारमा विशेष महत्त्वको मानिने एक प्रकारको फूल हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । यसलाई हिन्दी भाषामा गेंदा र अङ्ग्रेजीमा ‘मेरी गोल्ड’ भनिन्छ ।
मेक्सिको तथा मध्यअमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ ।
आउनुस्, तिहारमा विशेष रुपमा हेरिने सयपत्री, मखमली र गोदाबारी फूलहरूको इतिहास र महत्त्व कस्तो छ भन्नेबारेमा जानौँः
सयपत्री
मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आफैँ उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे ।
यो फूल मेक्सिको तथा मध्यअमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ ।
यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौँ वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे ।

होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भन्ने गरिन्छ । यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ ।
मखमली
दिदीबैनीका प्रिय मखमली फूल पनि अमेरिकाकै नेटिभ जात हो । सन् १८०० मा जङ्गबहादुरले बेलायत पठाएको उपहारको विवरणमा मखमली फूल पनि लेखिएकोले सोभन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझ्न सकिन्छ ।
अमारान्थासिया परिवारको करीब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पेफेना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्प फेना सेलोस्वाइड्स भनिन्छ ।

सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाई मात्र दर्सैं फूल मान्नुपर्छ ।
यसलाई ब्याच्लर बटन, स्ट्रबेरी फिल्डसमेत भनिन्छ । छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा शुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ ।
गोदावरी
गोदावरी चीनको मौलिक फूल हो । इसापूर्व १५०० वर्षतिरै चीनमा औषधिका लागि खेती गरिन्थ्यो ।
१८औँ शताब्दीमा जापान र युरोपमा १७औँ शताब्दीमा पुगेको यो फूल पर्सिया हुँदै भारत छिरेको हो । काठमाडौं कहिले पसेको हो भने यकिन छैन तर सन् १८९३ मा इलामको वयाकरण नेपाल नामक व्यक्तिको बगैंचामा यो देखिएको दस्तावेज छ, सायद दार्जिलिङतिरबाट ल्याइयो बुझिन्छ ।

भारतमा यसलाई गुल (फूल) दाउडी भनिन्छ । तसर्थ नेपालीको कानले गुल दाउडीलाई गोदावरी सुन्यो र यसको नाम गोदावरी रहन गएको अनुमान गर्न सकिन्छ । चाइनिज भाषामा यसको नाम 'चु' हो ।









फोटो : गोविन्द गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया