बुटवल । भैरहवाबाट लुम्बिनी पुग्न सार्वजनिक यातायातमा त्यस्तै एक घण्टा लाग्छ । लुम्बिनीसम्म जाने बाटो पक्की त छ तर त्यति व्यवस्थित छैन । भैरहवा, रुपन्देही क्षेत्रमा यतिबेला तातो हावा चलिरहेको छ ।
लुम्बिनी क्षेत्रभित्र भने शान्त छ । शीतल छ । चिटिक्क छ ।
आन्तरिक पर्यटक पनि उत्तिकै भ्रमणमा आउने लुम्बिनी ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जन्मेको स्थललाई पछिल्लो समय संरक्षण गरेर राखिएको छ । उनले टेकेको पाइलालाई सबैले हेर्न सकिने गरी राखिएको छ । दैनिकजसो बुद्ध धर्ममा आस्था राख्ने र अन्य दर्शनार्थी गरी सयौँ यहाँ आउने गर्छन् ।
मन्दिर परिसरमा तस्वीर खिच्न, बुद्धको जन्मस्थलको दर्शन गर्न र घुम्न आउने दर्शनार्थी पटक–पटक लुम्बिनी आउने गर्छन् ।
लुम्बिनी परिसरभित्र एक पूजारीले भने, ‘अहिले दशैँको बेला अझ बढी चाप बढेको छ, लुम्बिनी घुम्न आउनेको सधै भीड हुने गर्छ ।’
पछिल्लो समय नेपाली दर्शनार्थीलाई टिकट काट्नुपर्ने व्यवस्थालाई दर्शनार्थीले टिकट सबैका लागि खुला हुनुपर्ने धारणा समेत राख्न थालेका छन् । कास्कीबाट परिवारसँग लुम्बिनी घुम्न आएका एक दर्शनाथीले भने, ‘टिकट सिस्टम चाहिँ नभएको भए राम्रो हुन्थ्यो, अझ अहिले त क्यामेरा ल्याउनेलाई पनि छुट्टै शुल्क तिर्नुपर्ने बनाइएको रहेछ, यति पवित्र स्थल सबैका लागि खुला गरिनुपर्छ ।’
लुम्बिनी क्षेत्र विकास कोषले क्यामेरा ल्याएर आउने दर्शनार्थीलाई अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था ल्याएको छ । कोषले रुपन्देही, कपिलवस्तु र नवलपरासीका दर्शनार्थीलाई चाहिँ निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । मुख्य मन्दिरमा बाहेक लुम्बिनीका अन्य क्षेत्रमा भने टिकट लाग्दैन ।
अन्य १० तस्वीरमा लुम्बिनी घुम्नुहोस्
शब्द/तस्वीरः अर्घेलो थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया