पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

लोकपथ
28
Shares

काठमाडौं । पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ ।

मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरुलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरिशंकर पराजुलीले बताए । भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरुलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरुलाई आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीहरु बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए । उनले खद्दरको मोटो गम्छाको १ सय १० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको सय रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे । उनले पशुपति विकास कोषको आयलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित सामग्रीहरुको बिक्री गरिएको स्पष्ट पारे ।

त्यसैगरी, पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराणलगायत अन्य विभिन्न प्रकाशनहरुलाई पनि बिक्री गरिएको उनले जानकारी दिए । सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उनले उल्लेख गरे । महाशाखाका प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रुपमा जम्मा गर्ने गरिएको बताए । उनले दानपेटीकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैंकमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैंकमा दाखिला गर्ने गरिएको जानकारी दिए । पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरु र कर्मचारीहरुलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?