देश-विदेशमा के-के भए ? हेर्नुहाेस् आज दिनभरका मुख्य १५ समाचार (भिडियाेसहित)

लोकपथ
56
Shares

निर्वाचनको माहोलले विस्तारै राजनीतिमा गर्माहट ल्याउँदै छ । आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएसँगै स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पनि पाए । उता दिपक दिपक मनाङेलाई राम्रै दाउ लाग्यो, प्रदेश सभाको निर्वाचन हुनु अगावै आफ्नो पक्षमा जित निकाले ।

डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दैछ । सतर्कता अपनाउन नभुल्नुहोला ।

१. आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक, देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दियो स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह ।

२. टुकुचा खोलामाथि बनाइएका भौतिक संरचना नभत्काउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले लम्ब्यायो, सबै मुद्दाका पक्षधरलाई कात्तिक १ गते छलफलका लागि बोलाइयो ।

३. चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा कांग्रेसबाट बागी उम्मेदवार बनेका दिनेश कोइरालालाई एमालेको समर्थन, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले लिए उम्मेदवारी फिर्ता, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोइराला पार्टीबाट निष्कासित ।

४. स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाएका १०२ जना उम्मेदवारबाट निर्वाचन आयोगले उठायो ३ करोड ७२ लाख ५० हजार रुपैयाँ जरिवाना, जरिवाना रकम राजस्व शीर्षकमा दाखिला हुने आयोगको भनाइ ।

५. मनाङबाट प्रदेश सभामा उम्मेदवारी दिएमा राजिव गुरुङ उर्फ दिपक मनाङे प्रदेश सभा सदस्यमा सर्वसम्मतले निर्वाचित, सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका दोर्जे लामा गुरुङले आफ्नो उम्मेवारी फिर्ता लिएसँगै मनाङेलाई चिट्ठा ।

६. प्रभु साहलाई एमालेले टिकट दिए पनि स्वतन्त्र उम्मेदवारी दिएर पार्टीलाई धोका दिएको शंकर पोखरेलको आरोप, मधेस प्रदेशमा एमाले–जसपा गठबन्धनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई आग्रह ।

७. वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, जोशीलाई आइसीयूबाट डिलक्स क्याबिनमा सारियो ।

८. प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता, दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास ।

९. नक्सालको क्राउन प्लाजा होटलमा आगोले जलेर घाइते भएकी एक युवतीको मृत्यु, युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको खुलासा, होटल सञ्चालक र प्रेमी पक्राउ, पक्राउ परेकाविरुद्ध पाँच दिन म्याद थप गरी अनुसन्धान गरिँदै ।

१०. पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ५६ मा डेंगु संक्रमण पुष्टि, एक जनाको मृत्यु, हालसम्म ३७ हजार १ सय ३१ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४५ पुग्यो ।

११. साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक ११ दशमलव ३६ अंकले बढ्दा ७० करोडको कारोबार ।

१२. इराकी संसदमा बिहीवार राष्ट्रपतिको निर्वाचन हुने, राजनीतिक विवादका कारण सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूबीच मनमुटाव बढ्दै ।

१३. चीनमा कोभिड संक्रमण वृद्धि भएसँगै सेन्जेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षणलाई तीब्र पारिँदै, विद्यालय, मनोरञ्जन स्थल र पर्यटकीय केन्द्रहरू धमाधम बन्द हुँदै ।

१४. नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबको लगातार दोस्रो जित, सम्झनाले अर्धशतक बनाउँदा प्रदेश १ एक सय १८ रनले पराजित ।

१५. युएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले लगायो १४ वर्ष लामो प्रतिबन्ध, आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लंङ्घन गरेको आरोपमा दोषी ठहर ।

https://www.facebook.com/lokpath/videos/519213843363233

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?