काठमाडाैं । उच्च अदालत पाटनले टुकुचा खोला वरपरको संरचना नभत्काउन अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार २३ वटा रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले टुकुचामाथि बनेका उक्त घर तथा जग्गालाई कुनै क्षति पुग्ने गरी कार्य नगर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले लोकपथलाई बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ को कित्ता नम्बर ५४२ का जग्गाधनी विश्व प्रकाश साखसहितको २३ जनाले उच्च अदालतमा रिट निवेदन दिएका थिए । ‘निवेदकको नाममा रहेको जग्गामा निवेदकले कानुन बमोजिम नक्सा पास गरी घर निर्माण गरेको देखिएको हुँदा हाल नक्सा पास भएको घर र कित्ता नं ५४२ को जग्गालाई क्षति पुग्ने कुनै कार्य नगर्नु नगराउनु भनी आदेश गरिएको छ,’ अदालतद्वारा जारी आदेशमा उल्लेख छ ।
साथै, अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा विपक्षीहरुको समेत कुरा सुन्नुपर्ने भएकाले दोहोरो छलफलका लागि असोज २६ गतेको पेशी तोकिएको कट्टेले जानकारी दिए । ‘छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्धालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो,’ कट्टेलले भने, ‘सुनुवाइ पछि सबै मुद्धाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपु¥याउन भनिएको हो ।’
यसअघि २ असोजमा अदालतले टुकुटाको भूमीगत सुरुङमाथि निर्माण गरिएको घरहरु नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आजका लागि पेशी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्सलगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेश निरन्तरता दिने कि नदिने भन्ने बारे असोज ७ गतेका लागि पेशी तोकिएको उनले बताए । ‘आज काठमाडौं महानगरको तर्फबाट आउन भ्याउनुभएन,’ उनले भने, ‘अब शुक्रबार यसबारे छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया