नयाँ बसपार्क पुलमाथि धूलो पन्छाउँदै नाङ्लामा सामान बेच्नेहरूको व्यथा

काठमाडौं । बेलाबेलामा धूलोमा यताउता गरिरहेका गाडीले बालेको प्रकाश पर्दा धूलोको मुस्लो बाक्लो देखिन्छ । गोंगबु क्षेत्रलाई धूलोले वारिदेखि पारिसम्म खाली ठाउँ नछोडी कब्जा गरेको छ । बसपार्क क्षेत्रतिर बटुवा नाक छोप्दै हिँडिरहेका छन् । कोही कपडाले बेरिएर आँखामात्र देखाएर हिँडिरहेका देखिन्छन् । जसोतसो यहाँ सबैले धूलोबाट जोगिने कोशिश चाहिँ गरिरहेका छन् ।

शनिवार बसपार्क क्षेत्रको पुलवरिपरि पनि यस्तै दृश्य देखिन्थ्यो ।

साँझको ६ बज्नैलाग्दा सडकमा हिँड्नै असहज हुने गरी व्यापारीले फुटपाथमा स–साना पसल राख्न थाल्छन् । मान्छेको चहलपहल बाक्लो हुँदै जान्छ, पुलभरि फिँजाइएका सामान हेर्ने ग्राहकले बाटो जाम गराउँछन् । धूलोबाट तर्किंदै हिँडिरहेका केही टक्क अडिन्छन् । केही बेच्न राखिएका सामान हेर्छन् । कसैले मूल्य सोध्छन् केही सरासर जान्छन् ।

ग्राहकलाई अझै दशैँको शपिङले खासै छोएको छैन । नयाँ बसपार्कको आकाशे पुलमा मान्छेको बाक्लै आउजाउ हुन्छ ।

तल्लो पुलमा भन्दा यो पुलमा अलिक कम धूलो देखिन्छ । किनकि यहाँ गाडीको लाइट पर्दैन । धूलोले पूरै काठमाडौं ढपक्क ढाकेको छ भने पक्कै पनि त्यो पुल अछुतो रहने कुरै भएन ।

‘दाइ, एकछिन कुरा गर्न मिल्छ?’, पुलको एक छेउमा अलिकति कपडा राखेर ग्राहक बोलाउन तल्लीन एक व्यापारीलाई लोकपथकर्मीले सोधे ।

‘अहिले मिल्दैन, बोल्ने फुर्सद छैन ।’, उनले व्यस्तता देखाएझैँ गरी भने । सामान विक्री भएको थिएन । तर, उनीसँग बोल्ने फुर्सद पनि थिएन । मान्छेहरुको चहलपहल बाक्लो थियो पुलमाथि ।

दशैंको रमझमले कपडा व्यापारीको व्यापार बढाउनुपर्ने हो । तर गोंगबु एरियामा फुटपाथका व्यापारी भने दशैँ नजिकै आए पनि व्यापार भने फिटिक्कै नभएको बताउँछन् ।

नुवाकोटका विकास (उनले थर बताउन चाहेनन्) पुलमा धूलोको प्रवाह नगरी चिच्याउँदै थिए – ‘लौ आयो है, आयो, ६ सय ५० मा जुत्ता आयो ।’

केहीले आएर जुत्ता हेर्थे । केही दर्जन जुत्ता राखेर सानो पसल गरेका विकासको पसलबाट आधा घण्टासम्म पनि कसैले जुत्ता किनेनन् । बेलाबेलामा जुत्ताको धूलोसमेत सफा गरिरहेका हुन्थे उनले ।

‘दशैँ आयो भनेर के गर्ने हो, फिटिक्कै व्यापार छैन, आज त बोहनी नै भएको छैन’, उनले भने, ‘दशैँ आएर व्यापारमा केही फरक परेको छैन, विक्री नै हुन्न ।’

छेउमा सँगै जुत्ता राखेर बसेका अर्का किशोरले थपे, ‘दुई÷चार पैसा हुन्छ कि भन्ने हो तर कामै छैन ।’

उनीहरुले महाबौद्ध क्षेत्रका होलसेल पसलबाट अलिकति सामान खरिद गरी ल्याइ सडकमा बेच्न राख्ने गर्छन् । विक्री भएर आएको त्यही थोरै आम्दानीबाट गुजारा चलाउँछन् ।

धूलो उडिरहेको थियो । पुलमाथि एक महिला शिशुलाई काखमा राखेर केही सामान बेच्न बसेकी थिइन् । 

उनले ग्राहकलाई बोलाएकी थिइनन् । आउनेलाई मूल्य बताउँदै थिइन् । ‘नहुनभन्दा केही हुन्छ कि भन्ने हो, दुई पैसा आयो भने आयो, नत्र यहाँ धूलो खायो बस्यो ।’, उनले धुलोको पीडा सुनाइन् ।

फुटपाथमा सरकारले साँझ ६ बजेदेखि केही घण्टाका लागि पसल राख्न दिने गरेको छ । त्यो समयमा अलिकति सामान ल्याएर बिस्कुनझैँ पसल थाप्ने व्यापारीको बाक्लो उपस्थिति हुने गर्छ । एकैछिन व्यापार गर्ने वातावरण मिलाइदिए पनि राज्यले उनीहरुलाई दुःख दिन भने छोडेको छैन ।

‘व्यापार त खासै हुने हैन, तैपनि आशा जीवित छ नि !’ नुवाकोटबाट काठमाडौंमा आई अलिकति सामान बेच्दै गरेकी सीता तामाङले सुनाइन्, ‘नगरपालिकाले पनि हामीलाई नै लखेट्छ, पुलिस आयो भने लात्तीले हानेर सामान फाल्दिन बेर लाउँदैन, सडकमा बस्ने केटाहरुले पनि उस्तै दुःख दिन्छ ।’

केही दिनअघि मात्र उनको कपडाको पोको एक बालकले खोसिदिएछ । पछि माग्दा पनि नदिएपछि हारगुहार गरेर साथी बोलाएको सीताले सुनाइन् । ‘मेरै पोको खोसेर मलाई नै २० रुपैयाँको दरले सामान किन् भन्दै हका–यो, हामीलाई त सबैले हेप्छन् ।’, उनले गुनासो सुनाइन् ।

उनका पतिले कुल्ली काम गर्छन् । कुल्ली काम पनि सधै नपाइँदा जीवन धान्न गाह्रो हुने गरेको उनले बताइन् ।

नजिकै बसेकी झापाकी दुर्गा भट्टराईले सुनाइन्, ‘यस्तो जोखिममा बसेर काम गर्न हामीलाई पनि व्यापार गर्न कहाँ रहर हो र? सरकारले अलि राम्रो ठाउँ छुट्याइदिए त सजिलो हुँदो हो, एक नाङ्लो सामानका लागि कहाँ पसल खोल्ने?’

उनले सुनाइन्, ‘कम लगानीमा गर्नेलाई यस्तै गाह्रो छ, फट्याइँ गर्नेले चाहिँ पैसा कमाएकै छन्, हाम्रो हाल यस्तै छ ।’

एकछिन धूलोमा बसेर व्यापार गर्न खोज्दा पनि चौतर्फी दमन गर्नुपरेको उक्त क्षेत्रका व्यापारीको गुनासो छ । अर्कातिर दशैँ नजिकिँदै गर्दा व्यापार बढ्नुपर्नेमा केही राहत नमिलेपछि दशैँ कसरी मनाउने होला भन्ने चिन्ता पनि धेरैमा देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?