भटमासको तेल निर्यातबाटै ७५ अर्ब बढी आम्दानी, निर्यात हुने वस्तुमा गलैँचादेखि फलफूलको रससम्म

लोकपथ
0
Shares

काठमाडौं । सधैँ हरेक वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालले केही आशाजनक हुने गरी वैदेशिक व्यापारमा निर्यातलाई बढाएको पाइएको छ ।

हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको अवधिको तथ्यांक अनुसार नेपालले निर्यातलाई बढाउँदै विदेशी मुद्रा आर्जनमा उल्लेख्य प्रगती गरेको हो ।

विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले भटमासको तेलदेखि फलफूल तथा तरकारीको रससम्म निर्यात गरेको छ ।

जसमा सबैभन्दा धेरै प्रमुख नगदे बालीका रुपमा रहेको अलैँची निर्यात गर्न सफल भएको तथ्यांकले देखाउँछ ।

जसअनुसार नेपालले ९ अर्ब ४९ करोड ६१ लाख ४५ हजार बराबरको अलैँची निर्यात गर्न सफल देखिएको हो । यसअवधिमा नेपालले ४६ लाख ५ हजार १ सय ५० केजी अलैँची निर्यात गरेको छ ।

यता नेपालले सो अवधिमा ठूलो मात्रामा भटमासको तेल समेत निर्यात गरेको छ । ७५ अर्ब ७७ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको हो ।

नेपालले अन्तर्राष्ट्रिय बजारमा राम्रो छाप छाड्न सफल गलैँचा निर्यातबाट समेत राम्रो आम्दानी गर्न सफल भएको छ । विभागको तथ्यांक अनुसार नेपालले यस अवधिमा ६ अर्ब ५३ करोड ९६ लाख ४८ हजार आम्दानी गरेको छ ।

त्यसैगरी नेपालले सूर्यमुखी तथा कुसुमको तेल निर्यातबाट ६ अर्ब बढी रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा नेपालले ६ अर्ब २० करोड २३ लाख ६५ हजार रुपैयाँ भित्र्याएको छ ।

नेपालले निर्यात गरेको टप १० उत्पादनहरुमा जुट ५ नम्बरमा रहेको छ । यस अवधिमा नेपालले ४ अर्ब ३५ करोड ६२ लाख ६५ हजार रुपैयाँ बराबरको जुट निर्यात गर्न सफल भएको हो । यता पाम आयल निर्यातमा समेत नेपालले उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गरेको छ । विभिन्न बाह्य मुलुकबाट कच्च पदार्थ आयात गरी त्यसलाई प्रशोधन गरी विदेश नै निर्यात गर्दा समेत नेपालले ४ अर्ब ३२ करोड ३८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ ।

त्यसो त नेपालको टप १० निर्यातजन्य वस्तुमा म्याट्रेस लगायत आरामदायी वस्तु निर्माणका लागि सहयोगी मानिने गद्दाको कच्चा पदार्थ निर्यातबाट समेत राम्रो आम्दानी गरेको छ । यो अवधिमा नेपालले ३ अर्ब ५७ करोड ८६ लाख २७ हजार रुपैयाँ बराबरको गद्दाको कच्चा पदार्थ निर्यात गरेको हो ।

नेपालले यस अवधिमा औधोगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने धागो निर्यातमा समेत उत्तिकै उत्साहजनक उपस्थिति देखाएको छ । ८५ प्रतिशत भन्दा बढी पोलिएस्टर मिश्रित धागो ३ अर्ब १६ करोड ३१ लाख १० रुपैयाँ बराबरको सामग्री निर्यात गर्दा अर्थोपार्जन गरेको छ ।

यता फलफूल तथा तरकारीको रस निर्यातबाट समेत नेपालले राम्रो आम्दानी गर्न सफल भएको छ । विभागको तथ्यांक अनुसार टप १० निर्यातजन्य सामग्रीमा फलफूल तथा तरकारीको रसको निर्यातबाट नेपालले ३ अर्ब ४ करोड ४५ लाख ८६ हजार रुपैयाँ विदेशी मुद्रा भित्राएको छ ।

सधैँ आयातमुखी अर्थतन्त्र रहेको चर्चा हुने नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिलाई विश्लेषण गर्ने हो भने नेपालले निर्यातमा समेत आफ्नो पहिचान बनाउन सफल भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?