पछिल्लाे समय कोरोनाका कारण ज्यान गुमाएका १८ मध्ये १३ जनाले लगाएका थिएनन् खोप !

लोकपथ
481
Shares

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता बढीरहेको कोरोना संक्रमणबाट हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु भएका मध्ये १३ जनाले कोभिडविरुद्धको खोप नलगाएको पाइएको इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को प्राविधिक सहयोगमा आयोजित कोभिड–१९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारीसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. गेलालले कोभिड खोप नलगाएकाहरुको मृत्युदर बढीरहेको बताएका हुन् ।

नेपालले हालसम्म लक्षित जनसंख्यामध्ये ७० प्रतिशतलाई कोभिड खोप लगाइसकेको छ । तर, बुस्टर डोज भने जम्मा २५ प्रतिशत नागरिकले मात्र लगाएकोले कोभिडको जोखिम झनै बढ्न सक्ने उनले बताए । ‘कोभिड खोप लगाउनेभन्दा नलगाउने मानिसको मृत्युदर बढी छ,’ उनले भने, ‘१८ जनामध्ये १३ जना खोप नलगाएका छन् भने २ जनाले दोस्रो डोज लगाएका तर बुस्टर डोज लगाएका छैनन् ।’ १८ जनामध्ये १२ जना मृत्यु भएको व्यक्तिहरुमा एक वा एकभन्दा बढी दीर्घरोग रहेको उनले जनाए ।

मंकीपक्स देखिएको छैन

कार्यक्रममा उनले पछिल्लो समय नेपालमा मंकीपक्सको अवस्थाका बारेमा पनि जानकारी दिएका थिए । ‘नेपालमा हालसम्म मंकीपक्सका ४ वटा नमूना परीक्षण गरिएको छ,’ उनले भने, ‘ती नमूनमा हालसम्म संक्रमण पुष्टि भएको छैन ।’

विश्वका ८० भन्दाबढी देशमा २४ हजार भन्दा बढी मंकिपक्सका संक्रमित छन् । हालसम्म एसियामा ११ जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको छ भने भारतमा एकजना संक्रमितको मृत्यु भएको छ ।

महामारी विज्ञ डा. चथुरा इदिरीसुरियाले नेपाल मंकीपक्सको उच्च जोखिममा रहेको बताए । ‘भारतसँग नेपालको खुला सिमाना भएकाले पनि नेपाल मंकीपक्सको उच्च जोखिममा छ,’ उनले भने, ‘नेपालमा एउटा मात्र मंकीपक्सको संक्रमण पुष्टि भयो भने पनि त्यो आउटब्रेक हो ।’
यसैगरी, नेपालस्थित डब्लूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुख डा. एलिसन गोकोटानोले मंकीपक्सको अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणाका बारेमा प्रस्तुति दिएका थिए ।

डब्लूएचओ नेपालका राष्ट्रिय प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले नेपालमा हालसम्म मंकीपक्स पुष्टि नभएपनि यसका बारेमा इडीसीडीसँगको समन्वयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको बताए । साथै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मंकीपक्स परीक्षणका लागि २ सय ५० परीक्षण किट उपलब्ध गराएको जानकारी दिए ।

साथै, नेपालमा पछिल्लो समय बढ्दो कोरोना संक्रमण र बुस्टर डोज लगाउन नेपालीले देखाएको उदासिनताप्रति उनले दुःख व्यक्त गरे । ‘कोभिडसँग लड्ने क्षमता बढाउने भनेकै खोपले हो,’ उनले भने, ‘तर, बुस्टर डोज लगाउने नेपालीको संख्या निकै न्यून भयो जसले झनै जोखिम निम्त्याउन सक्छ त्यसैले सबैले समयमै खोप लगाउन आग्रह गर्दछु ।’

कार्यक्रममा नेपालस्थित डब्लूएचओको नेशनल प्रोफेस्नल अफिसर, एन्टिमाइक्रोयिबल रेसिस्टेन्स एण्ड ल्याब्रोटरी पल्पसा तुलाधर कंसाकारले कोभिड–१९ को बदलिँदो भेरियन्टका बारेमा प्रस्तुति दिएकी थिइन् । त्यसैगरी, डब्लूएचओ नेपालकी हेल्थ इमर्जेन्सी इन्टरभेन्सन अफिसर प्रतीक्षा आचार्यले कोभिड–१९ को पछिल्लो अवस्थाका बारे जानकारी गराएकी थिइन् ।

डब्लूएचओका क्लिनिकल स्पेसलिष्ट अफिसर डा. शितल अधिकारीले मंकीपक्स संक्रमणको पूर्वतयारी तथा सुरक्षाको उपायहरुका बारेमा बताएका थिए । उनले मंकीपक्सका लक्षण, यो संक्रमण कसरी फैलन्छ भन्ने बारे प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?