विपद् जोखिम व्यवस्थापन अत्यन्त न्यून : मानवअधिकार आयोग

लोकपथ
65
Shares

काठमाडौं । पछिल्ला केही सातादेखि मुलुकका विभिन्न भागमा भएका आगलागी र डढेलोका घटनाहरुमा रोकथाम र नियन्त्रणको कामप्रति राष्ट्रिय मानवअधिकार आयोगले सन्तुष्टि जनाएको छ । धनजनको क्षति भइरहेको घटना विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले विपद् रोकथाम र नियन्त्रण प्रभावकारी बनाउन जोड दिएको छ ।

महोत्तरीको मटिहानी–६ जरलहवा टोलमा वैशाख १२ गते भएको आगलागीबाट ९१ कच्ची र ९ वटा अर्धपक्की गरी १०० वटा घर क्षति भएको छ । उक्त घटनाबाट ४ सय ५५ जना प्रभावित भएका छन् । पछिल्लो चौबिस घण्टामा विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलोको घटना भएको छ । यसमा एक जनाको मृत्यु हुनुका साथै ४ जना नागरिक घाइते भएको पाइएको आयोगले जनाएको छ ।

घटनापश्चात तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरु थप समस्यामा परेको देखिएको आयोगले उल्लेख गरेको छ । विगत एक वर्षमा आगलागी तथा डढेलोबाट १ सय १४ जना नागरिकको मृत्यु भएको छ भने पछिल्लो एक महिनामा मात्र १४ जनाको आगलागी र ८ जनाको डढेलोमा परी मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ । सुरक्षाकर्मी तथा स्थानीवासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको देखिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरु अत्यन्त न्यून रुपमा भएको र भएका पनि सहरकेन्द्रित भएको देखिएको आयोगले औंल्याएको छ ।

आयोगले भनेको छ, ‘वायु प्रदूषण हुनमा आगलागी र डढेलोको प्रत्यक्ष भूमिका हुन्छ । पछिल्ला वर्षहरुमा नेपाल विश्वमा सबैभन्दा धेरै वायु प्रदूषण हुने देशहरुको सूचीमा पर्दै आइरहेको छ । यसका विभिन्न कारणहरुमध्ये आगलागी र डढेलो प्रमुख मानिएको छ । नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत वन क्षेत्र हुनु सकारात्मक पक्ष भए तापनि वनमा हुने आगलागी तथा डढेलो नियन्त्रण तथा न्यूनीकरण गर्न सरकारी वन, साझेदारी वन, सामुदायिक वन, कबुलियती वन, निजी वनलगायतको व्यवस्थापन कार्ययोजनाको समेत प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ । वनजंगल संरक्षण तथा व्यवस्थापनका लागि परम्परागत ज्ञान, सीप र अभ्यासको खोजी तथा प्रवद्र्धन गर्न समेत जरुरी छ ।’

आगलागी र डढेलोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ३ मा उल्लिखित प्रत्येक व्यक्तिको जीवनको सुरक्षाको अधिकारमा बाधा परेको छ । नेपालको संविधानको धारा १६ मा उल्लिखित विपद्जन्य घटनामा द्रुत प्रतिकार्य टोली एवम् घटना प्रतिकार्य टोलीको समयमा नै परिचालन गरिनुका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ समेत प्रभावकारी रुपमा कार्यान्वयन हुनु आवश्यक रहेको आयोगले जनाएको छ ।

आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्व तयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?