भारतको अनुदान सहयोगमा नुवाकोटको त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवन उद्घाटन

लोकपथ
105
Shares

नुवाकोट । भारत सरकारको अनुदान सहयोगमा जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले नवनिर्मित विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १ हजार ३ सय ४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान विश्वास व्यक्त गरिएको भारतीय दूतावासले जनाएको छ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहीआएको सहकार्यलाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?