काठमाडौं । नेपाललाई कृषिप्रधान देश भनेर जति नै चिनाए पनि भन्सार विभागमा नेपाल भित्रिएका खाद्य सामाग्रीहरुको तथ्यांकलाई हेर्ने हो निर्यात भन्दा आयातको अवस्था बढी रहेको देखिन्छ । ६० प्रतिशतभन्दा बढी मानिस कृषिमा निर्भर रहेको विभिन्न तथ्यांकहरुले देखाएपनि नेपालले वर्षेनी अर्बौ रुपैयाँ बराबरको कृषिजन्य सामग्रीहरू आयात गरिरहेको अर्को तथ्यांक पनि छ । यसरी बार्षिक रुपमा हुने आयातको मात्रालाई हेर्ने हो भने नेपाल कृषि प्रधान देश भएरपनि कृषिजन्य सामाग्रीमा परनिर्भर हुँदै गएको मुलुक बनिरहेको छ ।
कृषिजन्य सामाग्रीको आयात एकातर्फ बढीरहेको छ भने अर्कोतर्फ नेपालीको विलासिताका सामाग्री खरिदमा पनि मोह बढ्दै गएको छ । यी दुई कारणले गर्दा अहिले हाम्रो देशको अर्थतन्त्रमा खर्बौं डलर बाहिरिएर बढी आर्थिक भार थपीन गएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको वस्तु तथा विभिन्न सामाग्रिहरू आयात गरेको देखिन्छ । मुलुक आर्थिक संकटमा तर्फ गइरहेको अवस्थामा पनि यति ठुलो मात्रामा रकम बाहिरिनुले अर्थतन्त्रमा झनै चुनौती निम्त्याइरहेको अर्थविद्हरू बताउँछन् ।
डरलाग्दो बन्दै व्यापार घाटा
नेपालमा आयात बढ्दै जाँदा अहिले देशको व्यापार घाटा डरलाग्दो बन्दै गइरहेको छ । नेपालको व्यापार घाटालाई हेर्ने हो भने सरकारले चालू आर्थिक वर्षलाई छुट्याएको बजेट बराबर छ । सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष नेपालले अहिलेसम्मकै सर्वाधिक वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो । यस अवधिभर नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
गत आर्थिक वर्षमा नेपालले १ सय ७१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेकोमा १४० देशसँग नेपालको व्यापार घाटामा रहेको छ । नेपालले पछिल्लो पटक ३१ देशसँग मात्र व्यापारमा नाफा गर्न सकेको छ ।
व्यापार घाटामा रहेका देशहरू
नेपालको व्यापार घाटा रहेको देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड, क्यानडा, बंगलादेश, भियतनाम, दक्षिण कोरिया, साउदी अरेबिया, स्वीट्जरल्याण्ड, सिंगापुर, बेल्जियम, जापान, पराग्वे, टर्की, रुस, दक्षिण अफ्रिका, फ्रान्स, नेदरल्याण्ड्स, जोर्डन, कतार, इजिप्ट, इटाली र म्यानमार लगायत देशहरु रहेका छन् ।
व्यापार नाफामा रहेका देशहरू
नेपालको व्यापार नाफामा रहेका देशमा ग्रेनाडा, किर्गिस्तान, सेन्ट हेलेना, मोरक्को, सेनेगल, घाना, कंगो, सियरा लियोन, बर्मुडा, माइक्रोनेसिया, जमैका, फिजी, अजरवैजान, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, मोनाको, अर्मेनिया, जाम्बीया, क्रोएसिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, माल्दिभ्स, न्यु क्यालेडोनिया, गुएना, नाइजर, कम्बोडिया र डेनमार्क रहेका छन् ।
विलासिताको समान खरिदमा अर्बौँ खर्च
विलासिताका वस्तुहरुमा नेपालीको रुची बढ्न थालेपछि अहिले यस्ता सामाग्रीहरुको आयात पनि अत्यधिक हुन थालेको छ । जस्तै, टेलिफोन, मोबाइल, सुन-चाँदी, सवारीसाधन, शृंगारका सामग्री लगायतका वस्तुहरूको खरिदका लागि मात्र अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । अत्यावश्यक बाहेकका वस्तुहरुको पनि उच्च आयात हुँदा अर्थतन्त्रलाई चर्को भार परिरहेको छ । अहिले स्वदेशमै उत्पादन गर्न सकिने वस्तुहरु समेत अर्बौँ रुपैयाँ खर्च गरेर विदेशबाट आयात हुने गरेको छ ।
गत वर्ष पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, कच्चा भटमास, फलाम र स्टिल, कच्चा पाम आयल, टेलिफोन मोबाइल, कोइला, सुन लगायत सामग्री नेपालमा सर्वाधिक भित्रिएका थिए । एक वर्षको अवधिमा २ खर्बभन्दा बढीको खाद्यान्नका सामग्री आयात भएका छन् । जसमा धेरैजसो वस्तुहरुको यही उत्पादन गर्न सकिने किसिमका थिए ।
मुलुकको अर्थतन्त्र एकतर्फ संकटतर्फ धकेलीरहेको अर्थविद्हरूले बताइरदाँ आयात झनै बढ्दै जाँदा नेपालको अर्थतन्त्रमा झनै चुनौती थपिने देखिन्छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता एवम् शोधनान्तर घाटा पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । त्यस्तै, शोधनान्तर घाटा २ खर्ब ६९ अर्ब ८१ करोड रहेको छ ।
शोधनान्तर घाटा बढेकोले विदेशी विनिमय सञ्चितिमा समेत प्रभाव परेको छ । करिब २ अर्ब ३० करोड अमेरिकी डलरले कमी आई ९ अर्ब ४५ करोड अमेरिकी डलर कायम भएको छ । उक्त सञ्चिति ६ दशमलब ७३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने देखिन्छ ।
आयातको अहिलेको डरलाग्दो स्थितिलाई नरोक्ने हो भने नेपालको अर्थतन्त्र दुर्घटनाग्रस्त हुने अर्थविद् डिल्लीराम खनाल बताउँछन् । अर्थतन्त्रलाई जोगाउन अहिले नै सजक बन्नुपर्ने उनको भनाइ छ ।
कसरी न्यूनीकरण गर्ने ?
सर्वप्रथम आयात घटाउन निर्यातको लागि हाम्रो उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने हुन्छ । मुलुकभित्रै उत्पादन गर्न सकिने वस्तुलाई यही उत्पादन बढाएर माग धान्ने क्षमताको निर्माण गर्नुपर्छ । कृषि क्षेत्रलाई चलायमान बनाउनुका साथै उत्पादकत्व वृद्धिमा जोड दिनुपर्छ ।
नेपालबाट विशेषगरी जडिबुटी, अलैंची, अदुवा, चिया, चिनी, सिमेन्ट लगायतका सामग्रीहरु उत्पादन हुने गरेका छन् यसको उत्पादन बढाएर निर्यातलाइ बढावा गर्न सकेमा पनि विदेशी मुद्रालाई बढाउन सकिनेछ ।
आयातलाई न्यूनीकरण गर्न विकास निर्माणलाई प्रतिकुल असर नपर्नेगरी अत्यावश्यक वस्तु आयातमा कडाई गर्नुपर्ने अर्थविद् खनाल बताउँछन् । उपभोग्य र विलासी वस्तुलाई कडाई गर्नुपर्ने र निर्यातलाई बढाउनतर्फ लाग्नुपर्ने उनको तर्क छ ।
पुँजी अपचलन भइरहेका छन् । यसलाई कडाईका साथ रोकेर बैंकिङ सेक्टरमा पैसा पनि आउने, विदेशी मुद्रा पनि भित्रने गरी सन्तुलनकारी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उनको सुझाव छ ।
अत्यमा, नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरता तर्फ लैजान कृषिजन्य उत्पादन, हाइड्रोपावर, औद्योगिक क्षेत्रको विकास गर्नुपर्छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्छ । अत्यावश्यकबाहेकका वस्तु आयातमा कडाई गरेर स्वदेशी उत्पादनलाई बढावा गर्न सकेमा मात्र नेपालले आर्थिक सूचकहरुलाई सकारात्मक बनाउन सकिने अर्थविद्हरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया