काठमाडौं । पछिल्लो समय सबै किसिमका उपभोग्य वस्तुहरुको मूल्यवृद्धि यसरी आकासिएको छ कि सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरुलाई दैनिक चुल्हो बाल्नै मुस्किल पर्न थालेको छ । मूल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्न नसक्दा आम नागरिकले यसलाई सरकारले नै दिएको उपहार संझिन थालेको छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ११ महिनाको तथ्यांकलाई हेर्ने हो भने उपभोक्ता मुद्रास्फीति ८ दशमलब ५७ प्रतिशत पुगेको छ । जसको कारण खाद्य तथा पेय पदार्थको मूल्यमा अत्यधिक वृद्धि भएको छ । यस्तै गैर–खाद्य पदार्थका सामाग्रीहरूमा पनि अत्यधिक मूल्य वृद्धि भएको छ ।
केही वर्षअघिसम्म प्रतिलिटर १५०/६० रुपैयाँको हाराहारीमा रहेको खाने तेलको मूल्य अहिले ३५०/६० रुपैयाँ पुगेको छ । केही महिना अघिसम्म १४/१५ सयको हाराहारीमा रहेको खाना पकाउने ग्याँसको मूल्य अहिले १८ सय रुपैयाँ पुगेको छ । यि त सामान्य उदाहरणहरु मात्र भए । भान्छामा दैनिक प्रयोगमा आउने सबै किसिमका खाद्यवस्तुहरुको मुल्य अचाक्ली बढेको जो कोहीले पनि महसुस गरिरहेका छन् ।
के हो मुद्रास्फीति ?
बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि वस्तु तथा सेवाको उत्पादन वा आपूर्ति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्थात् वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो ।
अझ सामान्य भाषमा भन्ने हो भने थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्थालाई मुद्रास्फीति भनिन्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।
कारण देखाउँदै बढाउँछन् मूल्य
मूल्यवृद्धि हुनुका धेरै कारणहरू छन् । पहिलो कारण पेट्रोलिम पदार्थको मूल्य वृद्धिलाई नै लिने गरिन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको छ । गत वर्षको जेठसम्म १२३ रुपैयाँ प्रति लिटर रहेको पेट्रोलको मूल्य अहिले १८१ रुपैयाँ पुगेको छ । पेट्रोलसँगै डिजेल र ग्याँसको मूल्यवृद्धि पनि सोही अनुपातमा बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हरेक वस्तु तथा सेवाको मूल्यमा पनि व्यापक वृद्धि हुने गरेको छ ।
मूल्यवृद्धि हुनुमा व्यापारीहरुको विभिन्न बहानाबाजीमा पनि भरपर्ने गर्छ । विशेषत व्यापारीहरुले उपभोग्य बस्तुहरुमा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाइरहेका हुन्छन् । यो वाहेक खाद्य पदार्थका बिचौलियाहरूले पनि बजार मूल्य बढाइरहेका ह्न्छन् ।
नेपालको अर्थतन्त्र आयतामुखी भएकाले हाल भइरहेको रसिया–युक्रेन युद्धका कारण पनि हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ देखि सुनको मुल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा परेको छ । त्यसकारणले पनि नेपालमा पछिल्लो पटक उपभोग्य वस्तुहरुको मूल्य आकासिएको हो ।
किन बढ्दैछ मूल्य ?
पछिल्लो समय मूल्यवृद्धि हुनुका धेरै कारणहरुमा हाम्रो अर्थतन्त्रको संरचना पनि एक हो । हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ । हामीलाई चाहिने जुनसुकै वस्तुहरु पनि आयातमै निर्भर रहेको छ । जसकारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा त्यसको मारमा सधै उपभोक्ता पर्ने गरेका छन् ।
पछिल्लो समय डलरको मूल्य बढ्नु, पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय क्षेत्रमै वृद्धि हुनु, सार्वजनिक यातायात खर्च बढ्नु, बैंकहरुको ब्याजदर बढ्नु जस्ता लगायतका बिभिन्न कारणले महँगी बढेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँछन् । उनले अहिले अन्तर्राष्ट्रिय बजार नै मूल्य वृद्धिको चपेटामा रहेका बताए ।
बजार अनुगमन गर्न छुट्टै निकाय
सरकारले बजार अनुगमनका लागि भन्दै विभिन्न निकायहरु बनाएको छ । तर अनुगमन टोलीको सक्रियता भने देखिदैन । अहिले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागलगायतका सरकारी निकायहरुले बजार अनुगमन गर्ने अधिकार पाएका छन् । तर यी निकायहरुले बेला–बेलामा बजार अनुगमन गरेर झारो मात्र टार्ने गरेको गुनासो उपभोक्ताहरुको रहदैं आएको छ ।
सरकारी मात्र होइन उपभोक्ताका तर्फबाट पनि बजार अनुगमन गर्न तथा सरकारलाई दबाब दिन विभिन्न उपभोक्ता समिति गठन भएका छन् । उपभोक्ताका तर्फबाट गठित समूहले बेलाबेलामा मूल्यवृद्धिको विरोध पनि गर्ने गरेका छन् । तर, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात !’ भने झैं भएका छन् आमउपभोक्ता । न ती सरकारी निकायको बारेमा जानकार छन् न त कुनै उपभोक्ता समितिको काम नै देखेका छन् । बरु उल्टै ब्यापारीको मनोमानी मुल्य अनुसार सामान खरिद गर्न बाध्य भइरहेका छन् ।
अनुगमनमा छैन प्रभावकारिता
बजार अनुगमन कै लागि भनेर सरकारी र आम उपभोक्ताकै तर्फवाट विभिन्न निकायहरु बने पनि बजार अनुगमनमा भने खासै प्रभावकारिता हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका सचिव भुवन निरौला बताउँछन् । उनी भन्छन्, नेपाली बजारमा जताततै वेथिति छ । बजार अनुगमन देखाउनका लागि मात्र गरिन्छ । तर त्यसमा केही प्रभावकारिता छैन । जसको मारमा उपभोक्ताहरु सधै परिरहेका छन् ।’
चाडपर्वको अवसरमा बजार अनुगमनलाई तीब्रता दिने गरे पनि केही सीमित ठाउँहरुमा मात्र केन्द्रीत हुँदा उपभोक्ताहरु कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगीने जस्ता समस्यावाट मुक्त हुन सकेका छैनन् । सरकारले बजार अनुगमनसम्बन्धि सही नीति लिन नसकेको निरौला बताउँछन् ।
बढेको मूल्य किन घट्दैन ?
विभिन्न बहानाबाजीमा बढेको मूल्य अवस्था सामान्य हुँदा भने घट्ने गरेको छैन । घटे पनि एकदम थोरै मात्र घट्ने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
राज्यले बजारलाई जबाफदेही बनाउनु पर्ने तर्क निरौलाको छ । बजारमा हरेक कुरालाई व्यवस्थित र नियन्त्रण गर्ने संयन्त्र नहुँदा मूल्यवृद्धि नियन्त्रणबाहिर गइरहेको उनले बताए । सरकार निरिह बनेकै कारण बजारको महँगी नियन्त्रणबाहिर गइरहेको उनको आरोप छ ।
मारमा जहिले पनि उपभोक्ता नै !
सरकारी संयन्त्रहरुले आफ्नो काम सहि ढंगले नगर्दा उपभोक्ता भने जहिले पनि मारमा पर्ने गरेका छन् । बढ्दो मूल्यवृद्धिका कारण उपभोक्ताहरुलाई बिहान बेलुकीको छाक टार्नै मुस्किल हुने गरेको छ ।
अत्यावश्यकदेखि उपभोग्यसम्मको वस्तुमा मूल्य बढ्दा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु भने मारमा पारिरहेका छन् । मूल्यवृद्धि बढ्दा भने सरकार भने टुलुटुलु हेरेर बसिरहेको छ । नागरिकहरु चुल्हो बाल्न नसक्ने अवस्थामा पुग्दा पनि बजारलाई व्यवस्थित बनाउन र नियन्त्रण गर्न भन्दै गठन गरिएका निकायहरुको मौन भएर बसेका छन् ।
उपभोक्ताले न बजार अनुगमन बुझेका छन् । न त वस्तुको गुणस्तर नै । अझ दुरदराजका उपभोक्ताहरु त झन् म्याद गुज्रीएको वस्तुबारे समेत जानकार छैनन् । हाम्रो उपभोग्य वस्तुको बजार यस्तोसम्म छ, जहाँ खुल्लमखुल्ला म्याद नाघेका सामान समेत बिक्री हुने गरेको छ । उपभोक्ताले व्पायारी र लेभलले जति भन्यो त्यति नै मूल्य तिरेर आफ्नो गुजारा गर्नु परिरहेको छ ।
पछिल्लो पटक अस्वभाविक रुपमा बढ्दै गएको मुल्यबृद्धिका विषयमा सरकारको ध्यान जानु जरुरी देखिएको छ । केन्द्रिय सरकारदेखि स्थानीय सरकारले आ–आफ्नो तहबाट यस विषयलाई व्यवस्थित रुपमा नियन्त्रणका प्रयासलाई कडाईका साथ लार्ने हो भने बजारलाई व्यवस्थित बनाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया