गभर्नर बर्खास्तीको माग गर्दै वाइसीएल र अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट भातृ संगठनहरु वाइसीएल र अखिल क्रान्तिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ । ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।

बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसंगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

यो विषय बुधबार संसदमा समेत उठेको छ । प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा छ । माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?