पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका-१४ घर भएका ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका-१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको उपस्थितिमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले थप अनुसन्धानको क्रममा घिसिङले युवतीलाई भारतको कलकत्तास्थित अस्पतालमा मासिक ६० हजार रूपैयाँको काम लगाइदिने प्रलोभन देखाई काठमाडौंमा असार २७ गते भेटी सोही दिन बीरगञ्ज बसपार्क ल्याएको र प्रहरीको बोर्डर चेकपोष्टमा ‘बाराको अमलेखगञ्ज घर हो र भारतको रक्सौलमा कपडा खरिद गर्न जान लागेको’ भन्नू भनी सिकाई गलफतमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको जनाएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया