काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यतिबेला निर्वाचनको तयारी मात्र हामी सबैको विषय हुनुपर्नेमा जाेड दिएका छन् । केन्द्रीय समिति बैठकमा पौडेलले यतिबेला निर्वाचनको तयारी मात्र हामी सबैको विषय हुनुपर्दछ । त्यसैले निर्वाचनको रणनीतिको बारेमा छलफल होस् भन्ने धाराणा राखेका थिए ।
त्यस्तै, निर्वाचनको आन्तरिक तयारीका लागि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृसंघठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपर्नेमा पनि यनले जाेड दिएका छन् । तल्ला तहहरुमा पनि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृसंघठनहरुलाई विधान बमोजिम पूर्णता दिन आवश्यक निर्देशन दिन पौडेलले प्रस्ताव गरेका छन् ।
आज बसेकाे केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले अरू थुप्रै विषयमा आफ्नाे धारणालाई बुदाँगत रुपमा प्रस्तुत गरेका छन् ।
प्रदीप पौडेलले प्रस्तुत गरेका विषयशरू :
देशलाई निर्वाचनमा लैजानुको विकल्प छैन । हामी निर्वाचनको मुखमा छौ । यही निर्वाचनले अवको पाँच वर्ष तय गर्छ । अहिले पार्टीमा सुदृढ एकता आवश्यक छ ।
सभापतिले उदारता देखाउन जरुरी छ, र अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशिलता बुझ्न जरुरी छ ।
कांग्रेसमा सबै पक्षका लागि स्पेस छ भन्ने वातावरण सभापतिले बनाउनु पर्छ । सँगसंगै सभापतिलाई कमजोर बनाएर अहिले कांग्रस बलियो हुँदैन भन्ने पनि स्विकार गर्नुपर्छ ।
पार्टीका आन्तरिक छलफल र निर्णय प्रक्रियाहरुमा अन्तरविरोध बढाउने भन्दा पनि आम एकता कायम रहने गरी सभापति, पदाधिकारी तथा नेत्तृत्वले आ–आफ्नो भूमिका निभाउनु पर्नेछ । ताकि निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का बनेर सशक्त ढंगले उभिन सकोस् ।
यतिबेला निर्वाचनको तयारी मात्र हामी सबैको विषय हुनुपर्दछ । त्यसैले निर्वाचनको रणनीतिको बारेमा छलफल होस् ।
गठबन्धनका राम्रा-नराम्रा पक्षमाथि छलफल गरौं । गठबन्धन नगरी आफ्नो पक्षमा मत/सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो तर गठबन्धनमा नजाँदा हाम्रा विरुद्ध बन्न सक्ने गठबन्धनका कारण हामीलाई निर्वाचन नतिजामा पर्न सक्ने नकरात्मक असरलाई ख्याल गर्न आवश्यक देखिन्छ ।
अहिलेका हाम्रा संभावना पनि विचार गरौं र २०७४ का पराजय पनि नबिर्सौं । कांग्रेस अहिले अनुकुल अवस्थामा छ । स्थानीय निर्वाचनको परिणाममा कांग्रेसले प्रतिस्पर्धीलाई धेरै उछिनेर पहिलो भएको छ । यो अनुकुलता विवेकपुर्ण रणनीतिले मात्र बचाईराख्न सक्छ ।
गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितिय समिकरणको आधारमा मात्र हुनु हुँदैन । गणितिय स्वार्थको लागि मात्रै गठबन्धन गरिएको हो भन्ने सन्देश आम मतदातामा गएमा त्यसले आम नागरिकलाई आकर्षित गर्ने छैन । त्यसैले गठबन्धन गर्दाको अवस्थामा निश्चित मुद्धा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम अनि एजेण्डाका आधारमा गरिनुपर्छ, ताकि यो गठबन्धन सार्थक परिणामको लागि भएको हो भनेर आम मतदाताले सजिलै विश्वास गर्न सकुन् ।
निर्वाचनको आन्तरिक तयारीका लागि अपूर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृसंघठनहरुलाई विधान बमोजिम पूर्णता दिई परिचालन गर्नुपदर्छ । तल्ला तहहरुमा पनि अपुर्ण अवस्थामा रहेका समिति, विभाग तथा भातृसंघठनहरुलाई विधान बमोजिम पूर्णता दिन आवश्यक निर्देशन गर्नुपर्दछ ।
लामो समयअघिदेखि मान्यताका निम्ति आवेदन गरेका संघसंस्थाहरुका बारेमा यथोचित निर्णय गरी सक्रिय बनाउने वातावसण बनाउनु पर्दछ ।
स्थानिय तहमा टिकट वितरणको ढिलासुस्तीका कारण उमेद्वारहरुले निर्वाचन तयारीको लागि पर्याप्त समय नपाउँदा कतिपय ठाउँमा प्रतिकुल परिणाम ब्यहोर्नुपरेको थियो । त्यसैले संघ तथा प्रदेशको निर्वाचनमा बेलैमा हरेक क्षेत्रका उमेद्वारको टुङ्गो लगाउदैँ तिनलाई निर्वाचन तयारीमा लाग्ने पर्याप्त समयको सुनिश्चितता गर्नुपर्छ ।
आन्तरिक टिकट वितरण गर्दा जित्ने सम्भावना बढी भएका लोकप्रिय उमेद्वारहरुलाई प्रस्तुत गरिनुपर्छ । विधिवत रुपमा निष्पक्षता कायम गर्दै विचार, सिद्धान्त र राजनीतिक निष्ठाका आधारमा उमेदवार छनौट गर्ने व्यवस्था गरिनुपर्छ ।
निवार्चनको यो संघारमा नेपाली कांग्रेसले अघिल्लो सरकारका राजनीतिक तथा आर्थिक विचलनको सशक्त भण्डाफोर गर्नुपर्ने ।
वर्तमान परिवेशको आर्थिक संकटका भ्रम तथा यथार्थकाबारे विज्ञहरुको सहयोगमा सत्य तथ्य सार्वजनिक गर्ने । अर्थतन्त्र समस्याग्रस्त देखिएमा त्यसको सशक्त संवोधनको लागि पारदर्शी रुपमा राष्ट्रिय स्तरमा सबल योजना अघि सार्ने ।
त्यसैगरि, कांग्रेस नेतृत्वको सरकारले आफ्नो बलियो प्रभावकारिता र लोकप्रियता कायम गर्न महङ्गी नियन्त्रण गर्ने, मल तथा पाठ्यपुस्तकको समयमै आपूर्ति गर्ने, जनजीवीकाका कतिपय मुद्धाहरुलाई फास्ट ट्र्याकबाट सम्वोधन गर्ने सामाजिक न्यायको प्रत्याभूति गराउने, लामो समयदेखि थाँती रहेका सीमा लगायतका वैदेशिक सम्बन्धका विषयमा पारदर्शी ढंगले कुटनीतिक संवाद शुरु गर्नुपर्दछ ।
निर्वाचन अगावै शिक्षा, स्वास्थ्य, रोजगार, सार्वजनिक यातायत जस्ता सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा नेपाली कांग्रेसको आफ्नै स्पष्ट नीति हुन जरुरी छ । यसका लागि विज्ञहरुको सहयोगमा यी सार्वजनिक सरोकारका विषयमा जनमुखी नीति अख्तियार गर्दै जनतालाई तरंगित गर्ने गरी घोषणा पत्रमा विशेष विषयहरु राख्नका लागि विज्ञहरुसँग छलफललाई अगाडि बढाउनु पर्ने ।
नेपाली कांग्रेस दोस्रो र तेस्रो ठुलो दलहरु दुवैले ल्याएको सिट भन्दाबढी सिटमा विजयी भएको छ । यो नतिजा पार्टीका लागि ठुलो अवसर हो । तसर्थ नेपाली कांग्रेसले जितेका पालिकाहरुमा जनताहरुलाई राम्रो प्रभाव पार्ने र नयाँ ढंगबाट चलेको देखिने गरी केन्द्रीय तहबाटै विशेष रुपबाट सहयोग पुग्ने स्थिति बनाईनु पर्दछ ।
संगठनका सबै संरचनाहरुलाई निर्वाचन केन्द्रीत हुने गरी परिचालन गरिनु पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया