बिदाई भए सबै पाहुना : ‘ईन्ट्रि देखि एग्जिटसम्म’ (तस्वीरमा चौथो बिम्सटेक)

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मुलुकका राष्ट्र–सरकार प्रमुखहरुको चौंथो शिखर सम्मेलन नेपालमा समपन्न भएको छ । बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते भएको थियो । 


बिम्सटेक सम्मेलनमा सात देशको सहभागिता थियो । सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहाकार ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता रहेको थियो । सम्मेलनको अध्यक्षता नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।  
भीभीआइपीको इन्ट्री
बिम्सटेक सम्मेलनमा सहभागी हुन नेपाल आउने पहिलो पाहुना हुन्, म्यानमारका राष्ट्रपति विन मिन्ट । उनी भदौ १२ (सोमबार) गते नै नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवंम् रक्षा मन्त्रीले उनको स्वागत गरे । 


भदौ १३ (मङ्लबार) बिहान म्यानमारका राष्ट्रपति विन मिन्ट बुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए । उनले मायादेवीको मन्दिरमा पुजा गरेर म्यानमारको गुम्बाको पनि भ्रमण गरेका थिए । म्यानमारको गुम्बा भ्रमणपछि उनले पण्डितरामा पुगी ध्यान केन्द्रमा केहिबेर ध्यान पनि गरे । 
बुधबार (भदौ १३) बिहान भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए । उनलाई नेपाल सरकारका उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । 


श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना बुधबार (भदौ १३) दिउँसो काठमाडौं उत्रिएका थिए । उनको स्वागतमा नेपाल सरकारका उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको टोली विमानस्थलमा पुगेको थियो । 

सम्मेलनको दिन बिहान भदौ १४ गते (बिहिबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरे ।

बिहिबार नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगीन् । 


अन्तिममा रोयल थाइ एयरफोर्सको विमानबाट थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा काठमाडौं आए । थाइल्याण्डका प्रधानमन्त्री आइपुगेसँगै बिमस्टेकका सबै पाहुना नेपाल आइपुगने क्रम सक्यिो । 
राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा
चौथो बिम्सटेक शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सो कार्यक्रममा सहभागी थिए । 


उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए । 
राष्ट्रपति भण्डारीले उनीहरूको सम्मानमा आयोजना गरेको दिवा भोजमा सरिक हुन उनीहरू शीतल निवासमा प्रवेश गरेका थिए । दिवा भोज सकिएसँगै उनीहरू सम्मेलनका लागि सोल्टी होटलतर्फ प्रस्थान गरे । 

बिम्सटेकको चौथो शिखर सम्मेलन प्रारम्भ 
शान्त, समृद्ध र दिगोपनाका लागि बंगालको खाडी’ नारा  सहित नेपालका प्रधानमन्त्री एवंम् बिम्सटेका अध्यक्ष केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गरे ।

ओलीको उद्घाटन र स्वागत मन्तव्य पछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखले आफ्नो धारणा राखेका थिए । 

यस्ता थिए बिम्सटेका एजेण्डा 

यस बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबिच कनेक्टिभिटीको विषयले सबैभन्दा धेरै प्राथमिकतामा राखिएको थियो । त्यस्तै बिमस्टेक विद्युतीय प्रशारण लाइन (एमओयू अन ग्रिड) मा हस्ताक्षरको कार्यक्रम रहेको थियो । 


गरिबी निवारण, व्यापार सहजीकरण तथा लगानी वृद्धि प्राथमिकताका विषय थिए । तर बुधबार भएको बिमस्टेक राष्ट्रका मन्त्रीहरूको बैठकले बिमस्टेक प्रभावकारी नभएको ठहर गरिएको थियो ।त्यसैले बिमस्टेकलाई प्रभावकारी बनाउने ‘विकास कोष’ स्थापना, सचिवालयको सुदृढिकरण पनि एजेण्डामा रहेको थियो । 

यस्तै सम्मेलनमा जलवायू परिवर्तन र सुरक्षा चुनौतीका रुपमा रहेको अन्तदेशिय अपराध र आतंकवाद छलफलका विषयमा थिए । 

बिम्सटेकको रिट्रिट 
बिम्सटेकको दोस्रो दिन भदौ १५ गते शुक्रबार बिहान होटल सोल्टीमा राष्ट्राध्यक्ष र सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद   (रिट्रिट) भएको थियो । 
सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा उनीहरुका जीवनसाथी पनि सहभागीता रहेको थियो ।  

बिम्सटेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा उनीहरुका जीवन साथीलाई स्वागत गरेका थिए । 
रिट्रिटलाई औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्ने गरिएको छ ।

बिम्सटेक अध्यक्षता हस्तान्तरण
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण गरिएको छ । चौथो बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले नेपालले बिम्सटेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा हार्दिक आभार प्रकट समेत गरेका छन् । साथै उनले नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
बिम्सटेक सम्मेलन समापन
१८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो बिम्सटेक सम्मेलन सम्पन्न भएको थियो । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलनको दोस्रो दिन एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलनको समापन भएको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । 

घोषणा पत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । यस क्रममा ‘ग्रिड इन्टरकनेक्सन’का विषयमा ‘बिम्सटेक’ राष्ट्रहरुबीच ‘एमओयु’मा समेत समझदारी भएको र बिम्सटेक राष्ट्रका विदेशमन्त्रीहरुले हस्ताक्षर गरे ।
भीभीआइपीको एक्जीट
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिम्सटेको अन्तिम दिन भदौ १५ गते स्वदेश फर्किएकी छिन् । उनी दिउँसो १ बजेको उडानबाट बंगलदेशको राजधानी ढाका प्रस्तान गरेकी हुन् ।  
उनलाई उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरे ।


थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा बिम्सटेक सम्मेलन सकिएलगत्तै स्वदेश फर्किएका हुन् । 
बिम्सटेकमा सहभागी भएर म्यानमारका राष्ट्रपति विन मिन्ट स्वदेश फर्किए । राष्ट्रपति मिन्टलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो बिदाई गरेका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीले बिदाई गरे ।


दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा रक्सौल–काठमाडौँ रेल सञ्चालनको इन्जिनियरिङ अध्ययन गर्ने समझदारीमा समेत हस्ताक्षर भएको छ । इन्जिनियरिङसँगै ट्राफिकको विषय समेत अध्ययन गर्ने सम्झौतामा उल्लेख छ । साथै रेल ‘ब्रोडगेज’ रेल सञ्चालनको सम्भाव्यता अध्ययन हुने सम्झौतामा उल्लेख छ ।


यस्तै भारतले २० करोड लागतमा पशुपतिमा बनाइदिएको ३ सय ९८ बेडको धर्मशाला नेपालका प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रूपमा उद्घाटन गरे । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार भारत सरकारको अनुदानमा उक्त धर्मशाला बनेको हो ।
धर्मशालामा ८ वटा स्वीट वेड रुम र बाँकी साधारण रुमहरु छन् । जसमा ३ सय ९८ जना एकैपटकमा बस्न सक्छन् ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक शनिबार (भदौ १६) स्वदेश प्रस्थान गरेका छन् । 
वाङचुकलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरे ।
 


राष्ट्रपति सिरिसेनाको लुम्बिनी भ्रमण
नेपाल भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपदचाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक स्तम्भ, पुष्करिणी लगायतका महत्वपूर्ण ऐतिहासिक वस्तुको अवलोकन गरे । 


राष्ट्रपति सिरिसेनाले मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको बोटमुनि पूजा तथा प्रार्थना समेत गरेका थिए । त्यसलगत्तै लुम्बिनी विकास कोषले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति सिरिसेना सरिक भएका थिए ।

राष्ट्रपति सिरिसेनाले लुम्बिनी भ्रमणबाट फर्किएपछि राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको थियो । 
शिष्टाचार भेटपछि दुवै देशका राष्ट्रपतिको उपस्थितिमा नेपालको इन्स्टिच्युट अफ फरेन अफेयर (आइएफए) र श्रीलंकाको बन्दरा नायके इन्टरनेशनल डिप्लोमेटिक ट्रेनिङ इन्स्टिच्युटबीच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र श्रीलंकाका राजदूत वेलांगे स्वारनालाथा परेराले हस्ताक्षर गरेका हुन् ।


श्रीलंकाका राष्ट्रपति स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहित सरकारका उच्च अधिकारीले बिदाई गरे । 


श्रीलंकाका राष्ट्रपति स्वदेश फर्किएसँगै बिम्सटेक सम्मेलनमा सहभागी भएका सबै भीभीआइपी नेपालबाट बिदाई भएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?