काठमाडौं । म्यान्मारकी प्रथम महिला चो चोले पाटक दरबार क्षेत्रको अवलोकन गरेकी छिन् ।
चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।
चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। उनले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राखेको प्याकुरेलले बताए ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलन सहभागी हुन मंगलबार म्यान्मारका राष्ट्रपति विन मिन्ट र प्रथम महिला चो चो नेपाल आएका हुन् ।
साथै उनीहरुले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण समेत गरेका थिए । लुम्बिनीमा राष्ट्रपति विन मिन्ट र प्रथम महिला चो चोले चार घण्टा बिताएका थिए ।
शुक्रबार १८ बुँदे घोषणा पत्र जारी गर्दै चौँथो बिम्सटेक सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको दोस्रो दिन एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलनको समापन भएको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर समेत गरे ।
यसक्रममा ‘ग्रिड इन्टरकनेक्सन’का विषयमा ‘बिम्सटेक’ राष्ट्रहरुबीच ‘एमओयु’मा समेत समझदारी भएको र बिम्सटेक राष्ट्रका विदेशमन्त्रीहरुले हस्ताक्षर गरका थिए ।
चौथो बिम्सटेक शिखर सम्मेलन काठमाडौंमा दुई दिन चलेको थियो ।
म्यान्मारका राष्ट्रपति विन मिन्ट र प्रथम महिला चो चो आजै स्वदेश फिर्ता हुँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया