चौथो बिम्सटेक सम्मेलनको दोस्रो दिन, यस्तो छ कार्यतालिका

काठमाडौं । काठमाडौंमा बिहीबारदेखि शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन आज समापन हुँदैछ । 

बिम्सटेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गर्दै शुरु भएको चौथो शिखर सम्मेलन घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गरेर सम्पन्न हुन लागेको हो ।

सम्मेलनको दोस्रो दिन तथा अन्तिम सत्र अहिले बिहान ११ बजेबाट शुरु भएको छ । 

मन्त्रीस्तरीय बैठकको अध्यक्ष एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १५ मिनेट आफ्नो मन्तव्य राख्ने र बिम्सटेकको १६ औं मन्त्रीस्तरीय बैठकले गरेको निर्णयसम्बन्धी रिर्पोट प्रस्तुत गर्नेछन् । 

आजको कार्यतालिका अनुसार ११ः२० बजे बिम्सटेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । महासचिवको प्रतिवेदनपछि बिम्सटेक सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।

चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम ११ः५६ बजेका लागि तोकिएको छ । 

१२ः०० बजे नेपालले बिम्सटेकको अध्यक्षता हस्तान्तरण गर्नेछ । 

सन् २०१४ देखि बिम्सटेकको अध्यक्षता गर्दै आएको नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्न लागेको हो ।

मध्याह्न १२ः१५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्ने र चौथो बिम्सटेक सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ ।

बिमस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?