नुवाकोट । जिल्लामा नेकपा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेर जिल्ला समन्वय समिति गठन गरेको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ नगरपालिकासहित १ गाउँपालिका गरि ३ पालिकामा गठबन्धन गरेर गएको माओवादी केन्द्र र कांग्रेसले भागबण्डा गरेर जिसस गठन गरेको हो ।
बुधबार बसेको गठबन्धनको निर्णय अनुसार नेकपा माओवादी केन्द्रलाई प्रमुखसहित ३ सदस्य पाएको छ । भने नेपाली कांग्रेसले उपप्रमुखसहित ४ जना सदस्य पाएको छ ।
निर्वाचनको अन्तिम परिणाम अनुसार पालिकामा बहुमत पुर्याएको माओवादी केन्द्रले राजिन्द्र विक्रम सिंह ठकुरीलाई जिसस प्रमुख बनाएर कमिटी गठन गर्न लागिएको माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले लोकपथलाई जानकारी दिए । ठकुरी पञ्चकन्या गाउँपालिका वडा नं ४ बाट सदस्यमा निर्वाचित भएका हुन् । उनका अनुसार अन्य तीन सदस्यमा रामचन्द्र पौडेल (विदुर-१२), मोहन पुडासैनी (बेलकोटगढी-३) र महिला सदस्यमा धनमाया विक (किस्पाङ-१) रहेका छन् ।
त्यसैगरी उपप्रमुखसहित ४ सदस्य पाएको नेपाली कांग्रेसले उपप्रमुखमा दलबहादुर तामाङलाई अघि बढाएको नेपाली कांग्रेस नुवाकोटका सचिव बैकुन्ठ मिश्रले लोकपथलाई जानकारी दिए । उनी गत निर्वाचनमा विदुर १३ बाट निर्वाचित वडासदस्य हुन् । मिश्रका अनुसार सदस्यहरुमा कान्छि सुनार (किस्पाङ-५), सन्तोषी देवकोटा (विदुर-५), सम्झना सेडाइ(ककनी-७) र राजेन्द्र श्रेष्ठ (लिखु-४ बाट रहेका छन् ।
अन्य दलबाट कुनै पनि उम्मेदवारी नपरेको कारण आज भएको सहमति अनुसार निर्णय गरेपनि भोलिमात्रै अन्तिम परिणाम सार्वजनिक गरिने मिश्रले बताए ।
‘आज जिसस गठनका लागि गठबन्धन गरेर जाने निर्णय भएको छ । माओवादी केन्द्रले प्रमुखसहित ३ सदस्य र नेपाली कांग्रेसले उपप्रमुखसहित ५ जना रहने गरि निर्णय भएको छ ।’मिश्रले लोकपथसँग भने, ‘आज सबै पदाधिकारीसहित सदस्यको निर्णय गरे पनि भोलि मात्रै कमिटी घोषणा गरिनेछ । अन्य दलबाट कुनै पनि उम्मेदवारी नआएको कारण जिससको कमिटी यहि नै हुनेछ तर त्यसको औपचारिक घोषणा भने भोलिमात्रै हुन्छ ।’
गत स्थानीय तहको निर्वाचनमा कुल १२ पालिकामध्ये माओवादी केन्द्रले प्रमुख र उपप्रमुख गरी १२ सिट जितेको छ । भने नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख गरी ११ सिट जितेको छ । त्यस्तै १ सिटमा मात्रै नेकपा एमालेले जित हासिल गरेको छ ।
स्थानीय निर्वाचन भएको १ महिनाभित्र जिसस गठन गनुपर्ने कानुनी व्यवस्था अनुसार जिसस गठन हुन लागेको हो ।
जिससमा एक प्रमुख, एक उपप्रमुखसहित ३ जना महिला सदस्य, ३ जना खुला सदस्य र एक जना अल्पसंख्यक सदस्य रहने कानुनी व्यवस्था रहेको छ ।
यसअघि नुवाकोटको जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया