काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ ।
साताको पाँच दिन भएको कारोबारमा नेप्से १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ ।
सेयर बजार लामो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन्दुमा झरेको छ ।
चालू आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ ।
लगानीकर्ताहरुले आन्दोलनदेखि ४/१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ४/१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ भएको देखिएको छैन ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सेयर बजारमैत्री नदेखिएसँगै बजार भारी अंकले घट्दै गएको छ । सातामा पाँच दिन भएको कारोबारमा पाँचै दिन नेप्सेमा गिरावट आएको छ ।
जेठ १५ गते अर्थमन्त्रीले संसदमा पस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि अर्थात् साताको पहिलो कोरोवारका दिन सोमबार नेप्से परिसूचक ४५.०९ अंक घटेर २१७८.६९ बिन्दुमा झरेको थियो । उक्त दिन कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३५.५३ अंक घटेर २१३७.९२ बिन्दुमा झरेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको थियो । मंगलबार कारोवारमा आएका २२९ कम्पनीको लाख ६९ हजार कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँबराबरको ३७ खरिदबिक्री भएको थियो ।
बुधबार पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको थियो । बुधबार कारोबारमा आएका २२७ कम्पनीको ३० लाख २० हजार कित्ता सेयर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, बिहीबार सेयर बजार मापन गर्ने सूचक १८.२६ अंकले घटेर परिसूचक २११२.४७ बिन्दु झरेको थियो । बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ३३.७६ अंक घटेर २०७८.७० बिन्दुमा झरेको छ । शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।
त्यस्तै, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सीमित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया