ओलीको कटाक्ष : ‘देउवालाई नै गठबन्धनको गन्तव्य थाहा छैन’

लोकपथ
105
Shares

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन् । सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गरे । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । उनले भने, ‘शेरबहादुर देउवालाई सोध्नुस त–यो गठबन्धन के हो भनेर ? उहाँ आफैले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नु हुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन । माधव नेपालले अर्कै भन्लान । यिनीहरुको गन्तव्यनै केही छैन । भोली कता जाने हो ? केही थाहा छैन यिनीहरुलाई । शेरबहादुरजीले प्रधानमन्त्री चिनेको छ । पोखरा गएर भनिहाल्नु भयो नि–गठबन्धन नभएको भए प्रधानमन्त्री हुन्थ्ये भनेर । अव ३० गतेपछि यो पाँच दलीय गठबन्धन बागमतीमा सलल । अव गठबन्धन चल्नेवाला छैन । यो गन्तव्य नभएको, हाटहुट, लाटलुटमा चलेको गठबन्धन हो । यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दीको शैलीमा हमला गर्छ । जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा ।’

ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको गम्भिर आरोप समेत लगाए । उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गरे । सत्तारुढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि ओलीले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?