कांग्रेस प्रवक्ता महतद्वारा आर्जुको विवादित अभिव्यक्तिको ढाकछोप

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य डा. आर्जु राणा देउवाको अभिव्यक्तिको ढाकछोप गरेका छन् ।

सोमबार स्थानीय निर्वाचनको सन्दर्भमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. महतले आर्जुको अभिव्यक्तिको बचाउ गर्दै गलत आशय नबुझ्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य राणाले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेसको मेयर नजितेको ठाउँमा बजेट नपठाउने बताएकी थिइन् । देउवाको गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभामा बोल्दै उनले कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने र वीपी कांग्रेसको करुवा चिह्नबाट उठेका उम्मेदवारलाई मत नदिन समेत उर्दी दिएकी थिइन् ।

उनको भनाइ निर्वाचन आचारसंहिता विपरित भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सोही प्रसंगमा बोल्दै प्रवक्ता महतले आर्जुले बोलेको कुरा गलत नभएको भन्दै कांग्रेसले जितेमा बजेटको सुनिस्चितता हुने अभिव्यक्ति दिएको बताए । साथै यसअघि ओली नेतृत्वको सरकारले कांग्रेसले जितेको ठाउँहरुमा बजेट नपठाएको समेत उनको आरोप रहेको थियो ।

‘जहाँसम्म हाम्रो पार्टीको केन्द्रीय सदस्य डा. आर्जुको कुरा छ । उहाँले पनि समग्रमा कांग्रेस पार्टी जित्यो भने त्यहाँचाँही बजेटको कुरा सुनिश्चित हुन्छ भन्ने हो । यहाँ त ठ्याक्क निकालेर सम्प्रेशण गर्ने चलन छ । त्यहि विचार पुर्याएर यहाँ त इफ बट भन्दा पनि मिलाएर भन्नुपर्नेछ । हामी चाँही जित्यौँ भने विकास गछौँ भन्ने सन्दर्भमा उहाँले भन्नु भएको होला । तपाइँहरुलाई स्मरण गराउन चाहान्छु । ओलीजीको पालामा त जहाँ जहाँ कांग्रेस जितेको थियो । त्यहाँ त्यहाँ बजेटै नदिने । सौतेनी व्यहार गर्ने । दोस्रो दर्जाको नागरिक जस्तरी, दोस्रो दर्ताको नागरिक जस्तरी दुरुपयोग गरेको उहाँहरु दुरुपयोग गर्न सिपालु हुनुहुन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले नेकपा एमालेले आफूले गरेको कामको चर्चा गर्न जानेको तर कांग्रेसले आफ्नो कामको चर्चा समेत गर्न नजानेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?