पोखरा । पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु पोखरा आइपुगेका छन् । पोखराको अमरसिंहचौरमा आज हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु पोखरा आइपुगेका हुन् ।
उनीहरु दिउँसो ११:३० बजेको फ्लाइटमा पोखरा पुगेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए ।
शीर्ष नेताहरु केहिबेरपछि चुनावी सभा स्थल अमरसिंहचौर पुग्नेछन् । चुनावी सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट र्याली निस्किरहेको छ । पोखराका विभिन्न स्थानबाट र्याली निस्किने क्रम जारी रहेको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले जानकारी दिए । र्यालीलाई स्थानिय दलका नेताहरुले नेतृत्व गरेका छन् ।
चुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले चुनावी सभा ऐतिहासिक हुने उनले बताए । ‘उनले यो चुनावी सभाबाट पाँचदलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।
चुनावी सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहँदै आएको कास्कीमा पोखरा महानगरपालिकासहित बहुमत पालिका जित्ने उद्देश्य राखेको पाँचदलीय गठबन्धनले आइतबार पोखरामा शक्ति प्रदर्शन गर्न लागेको हो । सभामा सहभागि गराउन उनीहरुले कास्कीका पाँचवटै पालिकाका कार्यकर्ता र सर्वसाधारण ल्याउन सयौंको संख्यामा गाडीको व्यवस्था गरेका छन् । हरेक गाउँ, टोलबाट पोखरासम्म आउने र जानेका लागि गाडीको ब्यबस्था गरिएको पाँचदलीय गठबन्धनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया