एक क्विन्टल हुँ भन्ने ओली एक एक ग्राम खोजेर एक किलो पुर्‍याउन खोज्दैछन्ः पुन

लोकपथ
210
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् ।

ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप उनले लगाए । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने उनको भनाइ थियो ।

उनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए । ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन । स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले’, गृहजिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’ नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।

अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र काँग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा जनताले समेत बुझ्ने मौका पाएको पुनले बताए । ‘उहाँ (ओली) पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । काँग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’, पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक÷एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पु¥याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।’ पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे ।

ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए । ‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ । बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं । ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने ।

ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए । ‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरुसँग छ । प्रतिगामीहरुसँग छ । ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ । यो उहाँका व्यवहार र संगतहरुले पुष्टि गरेको छ’, पुनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?