बाँकेमा पुन: मतदानको अवस्था नआउने गरी काम गर्न मतदान अधिकृतहरुलाई निर्देशन

लोकपथ
42
Shares

नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेका ८ वटै स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पुनः आफ्नो मतदान केन्द्रमा मतदान गर्नु नपर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकदिने प्रशिक्षणमा मतदान केन्द्र र मतदान सामाग्रीको सुरक्षाको बारेमा जानकारी मुलक प्रशिक्षण दिँदै उनले सो निर्देशन दिएका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले तालिममा सहभागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आफू खटेको मतदान केन्द्रको सुरक्षा तथा आफुलाई दिइएको जिम्मेवारीको बारेमा गहन भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले भने–‘ तपाईहरुलाई खटाईएको मतदान केन्द्रमा पुगेर आफुलाई तोकेको जिम्मेवारी सफलता पूर्वक कार्यसम्पन्न गरेर फर्कनु होला । त्यसको लागि आफुले गर्न हुने र नहुने सबै कुरा आभारसहिताले निर्दिष्ठ गरे अनुसार नै गर्नु होला ।’ उनले स्पष्ट शब्दमा निर्वाचनमा खटिने कर्मचारीलाई कुनैपनि उम्मेदवार वा दलको निकट भएर काम नगर्न र पक्षधरता नदेखाउन निर्देशन दिए ।

उनले मतदान केन्द्रमा मोबाइल लिन नपाइने, तथा निर्वाचन आचार संहिताको बारेमा सर्बदलिय छलफलमा स्पष्ट पारेर काम अघि बढाउन, सुरक्षा निकाय पनि साथमै हुने र दुबैको काम स्पष्ट तोकिएकोले समन्वयमा काम गर्न निर्देशन दिए । ‘तपाईलाई खटाईएको केन्द्रमा पुन मतदान गर्न नपर्ने गरी कार्य सम्पादन गरेर फर्कनु होला’ उनले भने ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश खडानन्द तिवारीले शान्तिपूर्वक मतदान सम्पन्न गराउनको लागि खटिने सबै मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीहरुको दायित्व अत्यन्त बढी हुने भएकोले चनाखो भएर निष्पक्ष तरिकाले आफुलाई तोकेको जिम्मेवारी बहन गर्नको लागि आग्रह गरे ।

उनले मतदान केन्द्रमा कुनै पनि विबाद र मतदान प्रकृयामा आउने अवरोधलाई पन्छाउदै शान्तिपूर्बक मतदान गर्ने बताबरण बनाउने जिम्मा पनि मतदान अधिकृतकै हुने भएकोले आफ्नो कार्य कुशलताको पर्दशन गरी तोकिएको जिम्मेवारी पुरागर्न आग्रह गरे ।

जिल्ला निर्वाचन अधिकृत रमा पन्तले बाँकेका आठवटै स्थानीय तहमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकैपटक प्रशिक्षण गर्न नसकिने भएकोले बिहीबार कोहलपुर, नरैनापुर, खजुरा, शुक्रबार नेपालगञ्ज, जानकी र डुडुवा र शनिबार बैजनाथ र राप्तीसोनारीमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने गरी समय तालिका बनाईएको जानकारी दिइन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई मतदान केन्द्रको निर्माण, आचारसंहिता, मतदान केन्द्रको सुरक्षा,लगायतको विषयमा प्रशिक्षण प्रमुख जिल्ला अधिकारी खत्री, मुख्य निर्वाचन अधिकृत तिवारी, अनुसंन्धान उपनिर्देशक नागेन्द्र गिरीलगायतले प्रशिक्षण दिएका थिए ।

बाँकेमा ८ वटा पालिकामा रहेका १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थलका लागि ३ सय ७९ मतदान अधिकृत, सहायक मतदान अधिकृत ७ सय ५८, अन्य सहायक कर्मचारी १ हजार १सय ३७ र मतदान अधिकृतले स्थानीय स्तरमा राख्ने स्वयमसेवकहरु प्रति मतदान केन्द्रमा ३ का दरले १ हजार १ सय ३७ जना जिल्लाका सबै मतदान केन्द्रमा खटिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?