काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौंको महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिस्पर्धीको रुपमा रहेका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए । अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने बताए । उनले अबको जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए ।
अध्यक्ष भट्टराईले भने, ‘जितमा म त्यति समस्या देख्दिन । उहाँको प्रतिपक्षी उम्मेदवार जो हुनुहुन्छ, मैले टिप्पणी गर्नु उपर्युक्त हुँदैन । उहाँ बारेमा पनि मलाई अलिकति भ्रम थियो । म प्रधानमन्त्री छँदा उहाँले पहिला राम्रै काम गर्नुभएको भनेर काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख पनि बनाएँ । तर उहाँ डेट एक्सपाएर भएको औषधि जुन काम नलाग्ने हुन्छ, जो प्रत्युत्पादक हुन्छ, उहाँ त डेट एक्सपाएर भएको मान्छे हुनुहुँदो रहेछ । मैले बीचमा नै उहाँलाई निकाल्नुपर्यो । म जस्तो एउटा उदारवादी मैले उनलाई निकालेको पनि हो । त्यसो भएको हुनाले पनि उहाँ त अब निर्विकल्प सिर्जनाजी विजयी हुनुहुन्छ भन्ने विश्वास छ । अब जितिसकेपछि गर्ने के भन्ने प्रश्न हो, त्यतापटि उहाँको विशेष ध्यान पुगोस् ।’
अध्यक्ष भट्टराईले आफू पनि काठमाडौं महानगरको मेयरमा उठ्न चाहेको बताए । उनले यसअघि मेयरमा उठ्छु भन्दा कतिपयले ठट्टा गरेको बताए । उनले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको बताए ।
अध्यक्ष भट्टराईले भने, ‘राजधानी शहरको मेयर भनेको अहिले पनि अन्यत्र विश्वमा पनि प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपतिपछिको दोस्रो सबैभन्दा ठूलो महत्वपूण पद हो । मैले भनेको थिएँ । धेरै मान्छेले ठट्टा पनि गरे । म अब एक पटक मेयर हुन्छु भनेँ मैले साँच्चै भनेको हो । त्यसरी मात्रै व्यवहारतया मान्छेले काम देखाउन सक्छ । तर संयोगले सिर्जनाजीले यो अवसर पाउनुभएको छ । यसलाई ध्यानमा राखेर काठमाडौं महानगरलाई देशको मोडल शहरीकरण नमूना उहाँले पेस गर्न सक्नुभयो भने देशभर भएको अव्यवस्थित शहरीकरण त्यसले एउटा आकार लिनेछ ।’
अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन चुनावलाई लक्षित गरेर मात्र नभइ दीर्घकालीन रहने दाबी गरे । उनले यो गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने बारेमा योजना बनाइरहेको बताए । अध्यक्ष भट्टराईले सिर्जना सिंह आफ्नै बलबुतामा मेयर बन्नुभएको बताए । उनले अब भावनात्मक एकीकरण गरेर देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष भट्टराईले भने, ‘अहिले हामीले जुन गठन्धन बनाएका छौँ, यो तत्कालको चुनावी उद्देश्यलाई मात्रै होइन । अब हामी सधैँ मिलेर कसरी यो देशलाई विकास र समृद्धिको दिशामा लैजाने, संसारमा सबैभन्दा पछाडि परेको देशलाई २० वर्षभित्र कसरी तेस्रो विश्वबाट पहिलो विश्वामा पु¥याउने ? त्यो हाम्रो सपना हो । त्यसअर्थमा पनि काठमाडौंले मोडेलमा काम गर्न सक्यो भने सबैले यो देशलाई विकसित बनाउन सकिन्छ । यसको निम्ति गोरखालीहरुले भुमिका निर्वाह गरौँ । मेरो सपना त थियो गोरखालाई पनि केन्द्रियस्तरमा गरेको गठबन्धन जस्तै गोरखामा पनि गरौँ । मिलेर अघि बढाँै । स्थानीय तहमा राजनीीत गर्ने होइन, विकास गर्नुपर्छ ।’
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताए । उनले सिर्जना सिंह पहिला राजनीतिकर्मी र दोस्रोमा मात्र पारिवारिक पृष्ठभूमिमा जोडिने बताए ।
नेता श्रेष्ठले भने, ‘सिर्जना गणेशमानको बुहारी, प्रकाशमान सिंहको श्रीमती भएको कारणले मात्रै उम्मेदवार बनाइएको जो चर्चा छ, त्यो नितान्त गलत हो । वास्तवमा गणेशमानजी र प्रकाशमानजस्सँग सिर्जनाको सम्बन्ध सिर्जना श्रेष्ठ राजनीतिकर्मी भएका कारणले भएको हो । पहिलो सिर्जना राजनीतिकर्मी हो । त्यसपछि श्रीमती र बुहारी । वास्तवमा सक्रिय राजनीतिमा प्रकाशमाजी भन्दा अगाडि सिर्जनाजी हुनुहुन्थ्यो । म नेपाली काँग्रेसबाट राजनीति शुरु गरेको मान्छे हो ।’
नेता श्रेष्ठले आफ्नो राजनीतिक यात्रा पनि कांग्रेसबाट सुरु भएको उद्घोष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया