काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले अर्को समूहले आफूहरुलाई गरेको कारबाही हास्यस्पद भएको बताएका छन् । उनले पहिला आफूहरुले कारबाही गरेको र कारवाही परेका नेताहरुले उल्टो कारवाही गरको विज्ञप्ति निकाल्नु मजाक मात्रै भएको बताए ।
चितवन भेलामा सहभागी लोहनीले १२औं केन्द्रीय समिति बैठकको निर्णयविरुद्ध गएपछि आफूहरुले विप्लव र प्रकाण्डलाई बुधबार विहान बसेको बैठकले कारबाही गरेको बताउँदै भने, ‘पार्टी निर्णयविरुद्ध उहाँहरुले गएपछि हामीले विहान ८ बजे कारबाही गरेका थियौँ, कारबाही परेका नेता प्रकाण्डले विज्ञप्ति निकालेर कारबाही गरेको भनेर हल्ला चलाएका छन्, यसको कुनै औचित्य छैन । यो हास्यास्पद नभएर मजाकको विषय बनेको छ ।’
उनले आफू कारबाहीमा परिसकेपछि विज्ञप्ति निकालेर आत्मरति लिएको बताए ।
लोहनीले विप्लव र प्रकाण्डले एकीकृत जनक्रान्तिलाई संशोधनवादको दलदलमा पुर्याएर देश र जनताप्रति धोका दिएकोले आफूहरुले विद्रोह गरेको बताए । लोहनीले विप्लवले नाम कम्युनिस्ट दिएपनि कम्युनिस्ट र माक्र्सवादका आधारभूत सिद्धान्तलाई लत्याएका कारण समस्या भएको उत्पन्न हुँदै आएको बताए ।
बुधबार भेला सुरु हुनपूर्व बसेको बैठकले महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डलाई पदमुक्त गरेको थियो । त्यसको केही घण्टापछि प्रकाण्डले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य उदयबहादुर चलाउने र गुणराज लोहनीलाई पार्टीबाट निस्काशन गरेका थिए ।
बुधबारबाट सुरु भएको विशेष राष्ट्रिय भेला शुक्रबार समान हुने बताइएको छ । संयोजक धर्मेन्द्र बास्तोलाले पेश गरेको ‘एकीकृत जनयुद्ध’ नामक दस्तावेजमाथिको छलफल सकिएको छ । छलफलको लागि १३ वटा समूह बनाइएको थियो । विहान खाना खाएर समूहगत छलफलको टोली नेताहरुले निष्कर्ष सुनाउने सुरु गरेका छन् । केन्द्रीय सदस्य लोहनीले धारणा राख्ने क्रम आजै सकिने बताए ।
भेला भोलि नै समापन गर्ने कार्यतालिका रहेको छ । पार्टी पुनर्निमाणको अभियान देशभर लैजाने बताइएको छ । पहिलो चरणमा पार्टी पुनर्निर्माण गरेर भेरा गरेर थप निर्णय लिने एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया