भरतपुरमा आज गठबन्धनको चुनावी सभा, शेखर नजाने

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आज (बिहीबार) चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ ।

त्यसको लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरु चितवन पुगिसकेका छन् । तर कांग्रेसका अर्का नेता डा. शेखर कोइराला भने उक्त सभामा नजाने भएका छन् ।

सभापति देउवाले कोइरालालाई फोन गरेर सभामा उपस्थित हुनका लागि आग्रह गरेका थिए । तर कोइरालाले भने आफू कार्यव्यस्तताको कारण जान नभ्याउने जवाफ दिएको कोइरालाको सचिवालयले जनाएको छ ।

नेता कोइराला यसअघि निरन्तर गठबन्धनको विरोधमा रहेका थिए । नेता कोइराला निर्वाचनमा नेपाली कांग्रेस एक्लै जानुपर्नेमा जोड दिँदै आइरहेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । जसमा माओवादी केन्द्रको तर्फबाट निर्वतमान मेयर रेणु दाहाल मेयरको उम्मेदवार रहेकी छिन् भने उपमेयरमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारी रहेका छन् । यता गठबन्धनविरुद्ध कांग्रेस नेता जग्गन्नाथ पौडेलले बागी उम्मेदवारी दिँदैछन् ।

गठबन्धनले बुधबारबाट देशभर चुनावी सभा गर्न सुरु गरेको छ । कांग्रेसले वैशाख २१ गतेबाट सुरु गरेर वैशाख २७ गतेसम्म चुनावी सभा गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?