‘ऐन र कानुनले निर्देश गरेअनुसार कार्यसम्पादनमा लाग्नेछु’

लोकपथ
70
Shares

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिए पनि अपेक्षाअनुसारको गति लिन सकेन । खेलकुदमा उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो ।

संघीय सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै नयाँ सदस्यसचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो । पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो । मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो ।

कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद छिटफुट केही प्रतियोगिता भए पनि सरकारी क्यालेन्डरमा रहेका प्रतियोगिता हुन सकेनन् ।

गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ । यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो ।

चीनमा हुने एसियन गेम्स हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागी विषयमा कुनै छलफल पनि हुनसकेको छैन । सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन ।

यही विषयको सेरोफेरोमा रहेर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग गरेको कुराकानी :

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनुभएको छ । नयाँ साल सुरु हुँदै छ, जिम्मेवारीका साथ आउनुभएको छ, के–के छन् एजेण्डा ?

गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले एजेण्डा सार्वजनिक गरिसकेको थिएँ । अहिलेको एजेण्डा भनेको चार महिना पदवाहली हुँदा सर्वाजनिक गरिसकेको छु । भर्खरै नियुक्त भएको सदस्यसचिव होइन । मलाई सरकारले मंसिर १३ गते नै नियुक्त गरको हो । १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ ।

त्यसपछि अवस्था र वातावरण मिलेको थिएन । मेरो कार्यकालमा त्यो चार महिनाअगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न लागि पर्छु । अहिले मूलरुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकी प्रदेशमा आयोजना हुनेगरी निर्णय गरिएको छ ।

अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ । त्यहीअन्तर्गत नवौँ राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ ।

म नेपाल सरकारप्रति कृतज्ञ र अभार छु । साथै धन्यवाद दिन चाहन्छु । अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौँ राष्ट्रिय खेलकुद सफल बनाउने होमिन आग्रह गर्न चाहन्छु ।

मुख्यरुपमा अगाडि सार्नुभएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनउनुभएको छ ?

विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो । यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए, छन् । केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन् । देश संघीय संरचनामा गइसकेअनुसार प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन् । सबै बाहिर आएका छैनन् ।

उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौँ । कतिपय प्रदेशले टिम बनाइसक्नुभएको छ भने कतिपयले बनाउन बाँकी छ । यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुट्नेछु । नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ ।

हामीले नै प्रस्ताव गरेको मितिमा क्याबिनेट (मन्त्रिपरिषद्)ले पारित गरेको छ । लामो समयदेखि तयारी गरिरहेका खेलाडी प्रतियोगिताको पर्खाइमा छन् । खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन् । ती थाकिसेका खेलाडीलाई नयाँ ताजगी दिनका लागि भए पनि प्रतियोगिता चाँडोभन्दा चाँडो गर्न आवश्यक छ ।

देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन । स्थानीय तहको निर्वाचनपश्चात् प्रदेश र केन्द्रको आउँछ । कहिलेसम्म निर्वाचनको बहाना बनाउने । यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन । राजनीतिक दलहरुलाई चुनाव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ । खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ ।

नयाँ खेलकुद ऐन लागू भइसकेको छ, ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ । यसले पूर्णता कहिले पाउला ?

हामी यसको जिम्मेवार निकाय हौँ । यसबारेमा हामीले सम्बन्धित निकायमा पेस गरिसेका छौँ । नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानुनमा सहमतिका लागि पठाइसकिएको छ ।

सहमति हुनासाथ क्याबिनेटमा पेस गरेपछि यसले अन्तिम रुप पाउनेछ । तर नियामवलीकै कारण ऐन कार्यन्वयनका निमित्त ठूलो समस्या हुँदैन । ऐन जारी भइसकेको छ । त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुनेछैन ।

समय छोटो छ । काम धेरै गर्नु पर्नेछ । यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन् । सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन् । बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सीमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ कि बन्दैन ?

ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु । संस्थागत अपनत्व नै मूल विषय हो । व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्ने पात्र मात्र हो । म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु । स्वभाविक रुपमा खेलकुदलाई रीतपूर्वक चलाउन नियम हुन्छ । परिषद् चलाउन पनि एउटा नियम हुन्छ ।

पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ । एउटा सदस्यसचिव आफैँ संयोजक रहेको कार्यकारिणी समिति, जसले धेरै निर्णय गर्नसक्छ । दैनिक कार्यसम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ ।

बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ । म संस्थागत तरिकाले चालउँछु । व्यक्तिगत रुपमा म समस्या देख्दिन । म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ । अर्को भनेको परिषद्को बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्री समय प्रश्ताव राखिसकेको छु । अहिलेलाई यति भनेँ ।

मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषद्को बैठकको मिति आह्वान गर्छु । तर परिषद् कसरी पूर्णता दिने कसरी दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन । सदस्य सचिवको परिषद्को पूर्णता भनेको मन्त्रीज्यू र क्याबिनेटबाट हुने हो । लामो समयदेखि हुन नसकेको परिषद्को बैठकले बोलाउन प्रयास गर्छु । झन्डै २०७५ सालदेखि हुन नसकेको परिषद्को बैठकबाट परिषद्को चलाइरहेका छौँ, सदस्य सचिवले कार्यसम्पादन गरी राखेका छौँ । यो कुरा रीतपूर्वक, ऐनपूर्वक छैन । बैठक बस्दा राम्रो हो । कसले गर्‍यो, किन गर्‍यो भन्नेमा जानुभन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ ।

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ । पदावधि चार वर्ष भन्दै नियुक्त गरिए पनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो । चारवर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन समान्यरुपमा पनि लिनुहोला । यसअघि के भयो र कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौँ । ऐन र कानुनले निर्देश गरेअनुसार म कार्यसम्पादनमा लाग्नेछु । कहिलेसम्म रहन्छ भन्नेभन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढ्ने हो । नयाँ सरकार बनेर कानुनपूर्वक मूल्याङ्कन गर्नुहुन्छ र कानुनपूर्वक गरेको मूल्यांकनलाई अन्यथा लिनु भएन । खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसाबले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?