विवेकशीलको घोषणा : काठमाडौं महानगरमा मेयर र उपमेयरमा दुवै महिला उम्मेदवार

लोकपथ
1.2k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको मेयर र उपमेयरका लागि दुवै महिला उम्मेदवार उठाउने भएकाे छ । पार्टीले समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऔँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।

प्रवक्ता शरदराज पाठकका अनुसार बाँस्कोटा बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। उनका अनुसार ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। गत निर्वाचनमा काठमाडौं– १ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्।

उता, उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन्। नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।

‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुई जना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?