नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेका छन् ।
साबिक भद्रुटार गाविसमा कांग्रेसबाट निर्वाचित सभापति समेत बनेका थापा बिहीबार बिहान एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य समेत रहेका बद्री मैनालीले थापालाई एमालेमा प्रवेश गराएका हुन् ।
लामो समय कांग्रेसमा रहेर काम गरेका थापा कांग्रेस पार्टीको शिद्धान्त राम्रो भए पनि पछिल्लो समय पार्टीभित्र मौलाउँदै गएको गुटगत प्रवृतिका कारण एमालेमा प्रवेश गरेको लोकपथलाई जानकारी दिए ।
‘नेपाली कांग्रेसमा दुख मेहनत गरेर अघि बढिरहँदा त्यसको विधान शिद्धान्त राम्रो भइरहँदा हामी दुख गरेकाले भन्दा अरुले अवसर पाउने अवस्था भएको कारण यता रोजेको हुँ ।’ उनले भने ।

आफूले जिल्ला तहका नेताहरुसँग पनि छलफल गरेको तर पार्टीभित्रै राख्नका लागि नेताहरुले पहल नगरेको कारण आफूले एमाले प्रवेश गर्ने निर्णयमा पुगेका बताए ।
कांग्रेसको १४औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकामा कांग्रेसको पालिका सभापतिको उम्मेदवार रहेका थापा माधव खनालसँग थोरै मतान्तरले पराजित भएका थिए । हाल पार्टी प्रवक्ता एवं कांग्रेस पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. रामशरण महत र कांग्रेस जिल्ला सभापति रमेशकुमार महत पनि सोही पालिकाका हुन् । तर पनि नेताहरुले आफूलाई पार्टीमा राख्ने कुनै चासो नदेखाएको उनको भनाइ रहेको छ ।
त्यसैगरी बुधबार बेलकोटगढि नगरपालिका वडा नं. १३ का कांग्रेसका तत्कालीन मदानपुर गाविसका उपसभापति बम बहादुर तामाङसहित अन्य समेत एमालेमा प्रवेश गरेका छन् ।
नुवाकोटलाई नेपाली कांग्रेसको किल्लाको रुपमा हेरिँदै आइरहेको छ । कांग्रेस पार्टीको मात्र नभएर समग्र राजनीतिमा नै प्रभाव पार्न सक्ने नेताहरु नुवाकोटमा रहेका छन् । हालका पार्टी प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायत राजनीतिमा प्रभाव राख्न सक्ने नेताहरु नुवाकोटमा रहेका छन् । पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेका नेताहरु पार्टी छाड्दै गर्दा केन्द्रीय तहमा बसेर काम गरिसकेका नेताहरुले रोक्न पहल गर्न नसक्नुले पार्टीमा थप धक्का लाग्ने देखिन्छ ।
आगामी वैशाख ३० गतेका लागि स्थानीय निर्वाचन घोषणा गरेसँगै देशभर पार्टी प्रवेशले तिव्रता पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया