काठमाडौं । विश्वभरिका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरिका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।
दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुँदैमा आफूलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए ।
‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफुसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हुँ ।’
यस्तै उक्त सूचीका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमिकी चीनमा ५ सय ३९ अर्बपति रहेका छन् । सूचीको सबैभन्दा माथी रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७ सय ३५ रहेको छ ।
२९०.३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया