काठमाडौं । भारत सरकारको अनुदान सहायताअन्तर्गत उदयपुर जिल्ला, गाईघाट, त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ ।
उदयपुरको गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि मंगलबार नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन्।
सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत ३ करोड ११ लाख नेपाली रुपैयाँको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।
बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माणकार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत छात्राहरु रहेका छन् ।

नेपालका सातैवटा प्रदेशमा विशेषगरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निर्माण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा रहेका छन् ।
भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताइएको छ। मंगलबार आयोजित उक्त कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया