काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र आगामी स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने बहस पेचिलो बनेको छ ।
गठबन्धनलगायत अन्य विषयमा छलफलका लागि जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो धारणा राखेका छन् ।
जारी केन्द्रीय कमिटीअन्तर्गत सोमबारको बैठकमा गठबन्धनमा जाने विषयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको मत बाझिएको छ ।
यसअघि पनि थुप्रै ठाउँहरुमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने अडानमा रहेका महामन्त्री थापाले सोमबारको बैठकमा आफू कुनै पनि हालतमा गठबन्धनमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
उनले नयाँ मतदातालाई पहिलो पटक कांग्रेसबाहेक अन्य चुनावचिह्नमा मत हाल्न लगाएर अन्य निर्वाचनमा पुनः रुखमा मत हाल भन्न नमिल्ने तर्क गरेका छन् ।
‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?’, थापाले भने ।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आगामी निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गरेर जानुपर्नेमा जोड दिएका छन् । कतै गठबन्धनमा आबद्ध दलहरु बलियो रहेको र कतै कांग्रेस बलियो रहेको बताउँदै गठबन्धन गरेर जानुपर्ने महामन्त्री शर्माको भनाइ रहेको छ ।
मतभारका आधारमा गठबन्धनमा जानुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भनेका छन्, ‘आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्छ । मतभार हेरेर त्यहाँको अवस्थाअनुसार तालमेल गर्नुपर्छ ।’
अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको धारणा सुनिसकेपछि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने बताएका छन् । पहिलेको निर्वाचनमा आफूसमेत बल्ल बल्ल निर्वाचन जितेको बताउँदै गठबन्धनको अडान कायम राखेका हुन् ।
त्यस्तै सभापतिको बोलीमा लोली मिसाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । यता नेता शेखर कोइरालाले भने गठबन्धन नगरी कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया