सार्वजनिक यातायातको भाडादर आफैं बढाउने व्यवसायीहरुको चेतावनी

लोकपथ
161
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् ।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ । महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताए ।

उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिए । यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ ।

उनले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए । सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गरे । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे ।

उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गरे । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताए ।

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?