होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

लोकपथ
3.2k
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१८ मा रहेको न्यू कान्तिपुर होटल एन्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसँगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका-६ धनकुटाका २४ वर्षीय जीवन उपनामका विनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएकाे प्रहरी टोलीले घटनाकाे सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।

तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाएसँगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल इटहरी-५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।

यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाको पाख्रिवास-११ बाट प्रहरीले पक्राउ गरेको हो ।

हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?