धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षीको विरोधका कारण स्थगन गरिएको छ ।
बैठकको कारबाही प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरुले प्रदेश सरकारले आव २०७५/०७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।
आआफ्नो स्थानबाट उठेर केही नबोलेर विरोध गरिएपछि प्रतिपक्षीलाई सभामुख अर्जुनबहादुर थापाले आफ्नो भनाइ राख्न अनुमति दिएका थिए ।
त्यसक्रममा काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले आगामी आवका लागि ल्याइएको बजेटको योजना छनोट र प्रथामिकीकरणलगायतका प्रक्रिया गलत रहेको, वितरणमुखी र डल्लो बजेट ल्याइएकाले यसबाट जनताले गरेका अपेक्षा पूरा नहुने भन्दै सच्याउन दिइएको सल्लाह नमानिएकाले विरोध गर्नु परेको बताए ।
डा रावलले बजेट ल्याउँदा भएको त्रुटि नसच्याइएसम्म विरोध जारी रहने बताए ।
डा. रावलले आफ्नो भनाइ राखिसकेपछि सभामुखले आआफ्नो स्थानमा बस्न गर्नु भएको आग्रह पनि प्रतिपक्षी सदस्यले नमानेपछि आजको बैठकको कामकारबाही स्थगन गरिएको हो । प्रदेशसभाको अर्को बैठक यही असार १२ गते अपराह्न ४ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया