जुलाईसम्म ट्रान्जिट प्रोटोकल तयार हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल रहेको बताएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पारवाहन र यातायातका सम्बन्धका बारेमा छलफल तथा सहमति भएको उल्लेख गरे । 

नेपाललाई यातायातको क्षेत्रमा ट्रान्जिट पोइन्ट बनाउनेमा कुनै शंका नरहेको बताउँदै ट्रान्जिट प्रोटोकल जुलाईसम्म तयार हुने र त्यसमा सहमति हुने विश्वास व्यक्त गरे ।

त्यस्तै चीनबाट नेपाल रेल ल्याउन डिटेल सर्वेको लागि समय लाग्ने बताउँदै उनले यो नयाँ प्रयोग भएकोले केही समय लाग्ने बताए । रेलमार्ग नयाँ प्रयोग मात्र नभएर नयाँ प्रविधिको विकास पनि भएकाले यसलाई अझ विस्तृत ढंगले काम गर्नुपर्ने उनले बताए  ।

‘यसमा परिपक्व ढंगले हामी सर्वेको काम गरेर केही वर्षभित्र काम सुरु गर्छौँ । चिनियाँ राष्ट्रपति सी जिङ पिङले नेपालमा रेल पु–याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताएको र संयुक्त वक्तव्यमा पनि यो कुरा उल्लेख छ ।’ उनले भने ।

उनले हिमालय भेगमा रेल ल्याउने काम सजिलो नभएको बताउँदै तिब्बती पठार अलि उचाईमा भएपनि हाम्रोतिर धेरै भिरालो भेग रहेको उल्लेख गर्दै परिपक्व रुपमा अध्ययन गरेर केही वर्षपछि शुरु हुने उल्लेख गरे ।

रेलमार्गमा कसले लगानी गर्ने भन्ने सञ्चाकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने–‘यो जोसँग पैसा छ त्यसले लगानी गर्दा हुने कुरा हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन । लगानी कसले गर्ने भन्ने कुरा भन्दा पहिला यसको सम्भाव्यता अध्ययनको कुरा आउँछ । त्यो ढुक्क भइसकेपछि अनि लगानीको कुरा आउँछ ।’

यस्तै सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछयाङ, तिब्बतका प्रमुख लगायतका व्यक्तित्वहरुसँग आपसी हितका विषयमा छलफल भएको उल्लेख गरे ।

सन् २०१६ मा भएको रेल्वे, हवाई, सडकमार्ग, मिडियाको विकासमा सहयोग गर्नेबारे दुबै पक्षबीच भएको सम्झौताको कार्यान्वयन गर्नेबारे दुबै पक्ष सहमत भएको समेत बताए । 

त्यस्तै चिनियाँ सहयोगमा केरुङ काठमाडौं रेलमार्गको पूर्व अध्ययन सम्भाव्यता छिट्टै सम्पन्न हुने बताउँदै मन्त्री ज्ञवालीले कोसी आर्थिक करिडोर, गण्डकी करिडोर निर्माणको अध्ययनबारे समेत छलफल भएको बताए । 

यसैगरी केरुङ–गल्छी ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माणको सम्झौता भएको, सन् २०२० मा नेपालमा पर्यटन वर्ष मनाउन चीनले सहयोग गर्ने लगायतका विषयमा छलफल भएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । 
यस्तै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रण समेत दिइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?