बैंकिङ कसुरमा फरार नुवाकोटका थापा फुटुङबाट पक्राउ

लोकपथ
518
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ५१ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार नुवाकोटको लिखु गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं.७ बस्ने विनोद थापालाई आइतबार पक्राउ गरी आज सोमबार सार्वजनिक गरिएको हो ।

थापाले बैंक अफ काठमाण्डू लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनबाट २०७८ मंसिर सात गते प्रतिवादी थापालाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ५१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर भएको थियो ।

सोलगत्तै फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार काठमाडौंको तारकेश्वर न.पा. वडा नं. ७, फुटुङ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोमबार ललितपुर जिल्ला अदालतमा पेस गरेको सीआईबीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?