वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

RSS
0
Shares

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री सिंहले कार्यालय प्रमुखहरूलाई पाँच महिनाको समयलाई व्यवस्थित गरी काम गर्न निर्देशन दिएका हुन् । “चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना बितिसकेको छ”, उनले भने, “अब ढिला नगरौँ ।”

दशवटै जिल्लाका कार्यालय प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनबाट जिल्लाको खानेपानी, सिँचाइलगायत क्षेत्रको चित्र आएको र यसले आगामी दिनका लागि मार्गदर्शन गराएको मन्त्री सिंहले बताए । आज १० जिल्लाका विद्युत् कार्यालयका प्रमुखहरूसँग विद्युत्का विषयमा छलफल गरी यहाँको ग्रामीण क्षेत्रको विद्युतीकरणको समस्या समाधानको खाका तयारी गर्ने उनले बताए ।

कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उनले विश्वास दिलाए । रु पन्ध्र लाख मुनिका सम्झौता भएर कार्यान्वयन क्रममा गएका योजनाबाहेक अन्य योजना रोक्नुपर्ने उनको भनाइ थियो ।

मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले अधिकांश कार्यालयको भौतिक तथा वित्तीय प्रगति अपेक्षित नभएको भन्दै एक वर्षमा गरिने काम पाँच महिना गर्नुपर्ने अवस्था आएकाले कार्यालय प्रमुखहरूलाई युद्धस्तरमा काम गर्न निर्देशन दिए ।
योजना महाशाखाका इञ्जीनियर प्रमुख प्रेमबहादुर ओलीले योजना तर्जुमा र त्यसले ल्याउने प्रभावकारिता, प्रशासन शाखाका प्रशासकीय अधिकृत लोकप्रसाद पौडेलले कर्मचारी व्यवस्थापनबारे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?