वातावरणमैत्री पूर्वाधार निर्माणमा हाम्रो जोड छ : मेयर शाक्य

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ ।

एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय आज महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष हीरालाल तण्डुकार, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, एरोशानका नेपाल प्रतिनिधि प्रकाश अमात्यसहित पदाधिकारीहरु सहभागी थिए ।

पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्नेवित्तिकै सुविधा भोग गर्न पाइने भएको छ ।
उदघाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताए ।

‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ । तर आफ्नो नजिक नबनाइदिनु भन्ने शर्त हुन्छ । हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ ।’ मेयर शाक्यले भने, ‘हामीले घना बस्तीकाविच कसैलाई असर नहुने शौचालय बनाउने भनेका थियौँ । हामीले भनेको कुरा स्थापित गर्न केही समय लाग्यो । आज स्थापित भयो । हामीले जे नीति लिएका थियौँ । आज क्रमशः कार्यान्वयनमा ल्याएका छौँ । यसका लागि स्थानीयबाट प्राप्त भएको सहयोग अतुलनीय छ ।’

‘हामीले लिएका नीति तथा कार्यक्रमहरु क्रमशः कार्यान्वयनमा जाँदै छन् । शौचालय अपरिहार्य आवश्यकता हो । यसको गम्भीरतालाई हामीले समितिमार्फत अध्ययन गरेका छौँ,’ उद्घाटनपछि बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नमूना कामलाई विस्तार गर्नुपर्ने बताइन् ।

‘यो ठाउँमा सार्वजनिक शौचालय बनाउन नदिन विभिन्न खालका दबाब आएका थिए । धेरै मान्छेलाई नभइ नहुने भएपछि हामीले त्यो दबाब झेलेर पनि काम गरेका हौँ’, कार्यक्रममा वडा ११ का अध्यक्ष एवं विधायन समितिका संयोजक हीरालाल तण्डुकारले भने । उनले भने, ‘हिजो नबनाउन दवाब दिएकाहरुलाई अहिले ठीक काम भएको महसुस भएको उल्लेख गर्नुभयो ।’ कार्यक्रममा वडा सदस्य सरोज मुल्मीले, आफ्नो कार्यकालमा भएका स्मरणीय काममध्ये सार्वजनिक शौचालय बनाउनु महत्वपूर्ण रहेको उल्लेख गरे ।

शौचालय भन्ने वित्तिकै कुनामा अँध्यारोमा हुनुपर्छ भन्ने मान्यता पाइन्छ । यसमा महानगरको निर्णयबाट नमूना काम भएको छ । एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले, बायो डाइजेष्टरसहित सबै प्रणाली थोरै ठाउँमा जडान गरिएको जानकारी दिए । अब वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन ठाउँ कम भएर बाधा हुँदैन । यो नमूना भएको छ । अमात्यको भनाइ थियो ।

शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ । यसको लम्बाई २८ फिट र चौडाई १२ फिटको छ । शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी ठाउँ छ । भवनबाट आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न सकिन्छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री हुनु, स्वचालित प्रबिधिमा आधारित सुविधा, उत्पादित फोहोर वातावरणमा जानबाट रोक्ने प्रणाली स्मार्ट शौचालयका विशेषता हुन् ।

यहाँ महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको पहुँच बढाउन यस बर्ष व्यवसायीहरुसँग अघि बढ्ने नीति बनाएको छ ।

उनीहरुले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिएवापत् यस बर्ष व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउने नीति लिएको छ ।

काठमाडौं महानगरपालिकाले नीति, कार्यक्रम र बजेटबाट सार्वजनिक शौचालयहरुको व्यवस्थापन गरिरहेको छ । बर्षौँदेखि सञ्चालन हुँदै आएका सार्वजनिक शौचालय, त्यसको सञ्चालन व्यवस्थापनको रुपान्तरण र स्तरउन्नति, अन्य सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा उपलब्ध शौचालयलाई सार्वजनिक उपयोग ल्याउने सम्भावनामा महानगरको जोड छ । नयाँ र प्रविधियुक्त शौचालयको निर्माण, पहुँच, यसका प्रयासका मुख्य पक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?