अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजश्व बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने भन्दै चुहावटलाई नियन्त्रण गर्न तत्काल कदम चाल्न जोड दिएका छन् । मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताएका हुन् ।
‘राजश्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रणको कार्य आजको आजैबाट सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि बताए ।
राजश्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको बताउँदै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उनले बताए । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ । यद्यपि हाल संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताए ।
शर्माले कतिपय राजश्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औँल्याए । त्यसैले सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उनले बताए । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजश्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजश्व चुहावटमा कमी ल्याउन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया